काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको गालीगलौच सहेर भएपनि आफूले समायोजनको कामलाई पूर्णता दिएको जनाएका छन्।
केही कर्मचारीहरु समायोजनका बेला आफूविरुद्ध व्यक्तिगत गालीगलौचमै उत्रिएको पनि मन्त्री पण्डितले गुनासो गरेका छन्। बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा मन्त्री यादवले कर्मचारी समायोजनका बेला झेल्नु परेको ‘सकस’ सम्झिए।
प्रस्तावित संघीय निजामति ऐनको छलफलमा भाग लिँदै मन्त्रीले भने, ‘२ जना उपसचिवज्यूहरु हानौला झैं गरेर आउनुभएको थियो, हामीले तपाईंले खटाएको ठाउँमै किन जाने भनेर भन्नुभयो। उहाँहरुले आफूलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भनेर थुक्छु पनि भन्नुभयो।’ मन्त्री पण्डितले समायोजनका बेला केही कर्मचारीले आफूहरुले भनेको ठाउँभन्दा अन्त खटाइए थुकिदिने भनेर धम्की दिएको पनिस्मरण गरे।
मन्त्री पण्डितको अनुसार कर्मचारीहरुमा विदेश भ्रमणको मोह बढेको छ। कर्मचारीहरु कामप्रति जिम्मेवार नदेखिएको उल्लेख गर्दै मन्त्री पण्डितले भने, ‘एक जना सहसचिवले वर्षको २१० दिन त विदेश भ्रमणमै विताएको विवरण पनि फेला पारेको छु। त्यस्ता कर्मचारीले देशमा कति दिन काम गर्छन् होला ?’