काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न सांसदहरुलाई आग्रह गरेका छन्। बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उनले सांसदहरुलाई यस्तो आग्रह गरेका हुन्।
सांसदहरुले बैठकमा विमानस्थलका सुरक्षाकर्मी र कर्मचारीले सांसदलाई नचिनेर चेक गर्ने, कडा बोल्ने, मर्यादा नगर्ने गरेको भन्दै पर्यटनमन्त्रीसँग गुनासो पोखेका थिए। मन्त्री भट्टराईले जवाफमा भीआईपी कक्ष प्रयोगलाई प्रतिष्ठासँग जोड्न नहुने आग्रह गरेका थिए। ‘म मन्त्री हुनुअगाडि त्रिभुवन विमानस्थलमा कहिले पनि भीआईपी मार्ग प्रयोग गरिन, सधैं सामान्य नागरिकसरह यात्रा गरेँ, त्यसरी यात्रा गर्दा सानो भइदैन’ उनले भने।
भीआईपी सुविधा प्रयोगका लागि मापदण्ड रहेको भन्दै मन्त्री भट्टराईले त्यसलाई पालना गर्न आग्रह गरे। मापदण्डमा कसले कति जना सम्म आफन्त लैजाने भन्ने प्रष्ट छ, त्यसलाई पालना गरौु, उनले भने, ुमापदण्ड विपरीत गर्न खोज्दा कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रचलन छ, यस्तो नगरौं। भीआईपीले आफ्नो चेतना बढाएको अवस्था मात्र पनि धेरै समस्या समाधान हुने मन्त्री भट्टराईले बताए।
छलफलमा सांसदहरुले विमानस्थलमा विद्यमान समस्या, नेपाल वायुसेवा निगमको सुधार, बन्दै गरेका विमानस्थल पूर्वाधार, उडान अवतरणमा भइरहेको डिले जस्ता विषयमा सरकारको धारणा मागेका थिए। पूर्वाधार निर्माणका काम भइरहेकाले गर्दा केही समय सकस हुने पर्यटन मन्त्रालयका सचिब केदारबहादुर अधिकारीले उल्लेख गरे।