काठमाडौं– नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज (बुधबार) देखि उच्चस्तरीय भेटवार्ता गर्दैछन्।
राष्ट्रपति हमिदले अपरान्ह साढे ४ बजे राष्ट्रपति भण्डारीसँ भेट गर्नेछन्। अपराह्न साढे ४ बजेदेखि ५ बजेसम्म चल्ने भेटमा आपसी हितकाबारेमा छलफल हुने छ। बुधबार राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम पनि छ।
बुधबार अपराह्न सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, २ बजेर ४० मिनेटमा बजे प्रधानमन्त्री केपी शर्मा ओली, २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारक मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने भ्रमणमा आएका हमिदसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।
त्यसैगरी बिहान सवा ११ बजे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसअघि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हमिदसँग शिष्टाचार भेट गर्ने छन्।
समृद्धमा सहयोग
मङ्गलबार राष्ट्रपति हमिदसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गरे। शिष्टाचार भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको थियो। बङ्गलादेशका राष्ट्रपति हमिदले नेपालको न्यानो स्वागतका लागि नेपाली जनता र सरकारलाई धन्यवाद दिएका थिए।
भेटका अवसरमा नेपालको पर्यटन, लगानी र आपसी सहकार्य गर्न सकिने विषय र यसअघि भइरहेका सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालील जानकारीे दिए।