विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ।
काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग सङ्गठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उनले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य सहनशीलता अपनाएको जानकारी दिएका छन्।
मुख्यमन्त्री राईले विकासमा पारदर्शिता नै सुशासनको पहिलो प्राथमिकता भएकाले नागरिकको यसमा प्रत्यक्ष सहभागिता र खबरदारीबाटै प्रतिफल प्राप्त हुनाका साथै सुशासन कायम गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनले प्रदेश सरकारले विकास, नीति निर्माण तथा बजेट बाँडफाँटमा जनतालाई जोडेर कार्य गरिरहेको जानकारी दिँदै गरीबी निवारण, रोजगारी र सामाजिक क्षेत्रमा गरिने कार्यबाटै जनताले सुशासनको अनुभूति गर्ने बताएका छन्।
मुख्यमन्त्री राईले स्थानीय सरकारबाट प्रदान गरिने सेवा छिटो, छरितो, सहज र सरल ढङ्गबाट नागरिकमा प्रदान गर्नु पर्नेमा जोड दिँदै जनता बलियो भए मुलुकमा सुशासन कायम भई ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियान पूरा गर्न सकिने बताएका छन्।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुशासनबाटै मुलुक र जनता समृद्ध हुने भएकाले निर्माण कार्यमा नागरिकको अनुगमन एवं निगरानी आवश्यक हुनेमा जोड दिएका छन्। अमेरिकी सेन्टरका प्रमुख सुलभराज भट्टले स्थानीय निकायले गर्ने कार्यमा सुशासन कायम राखी जनतालाई छिटो र छरितो सेवा प्रदान गर्न तालीम उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।
उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठन मोरङ शाखा अध्यक्ष भीम घिमिरे र तारा निरौलाले स्थानीय निकायका पदाधिकारीलाई कार्य सम्पादनमा सहज बनाउनका लागि सो तालीम आयोजना गरिएको बताएका छन्। प्रदेश नं १ र २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखको सहभागिता रहेको उक्त तालीम यसअघि अन्य चार प्रदेशमा सञ्चालन भइसकेको जनाइएको छ।
रासस