काठमाडौं– मङ्गलबार चार दिने नेपाल भ्रमणका लागि बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको काठमाडौं आउन लागेका छन्। उनि चार दिने नेपाल बसाइ, उच्च राजनीतिक भेटघाट तथा ऐतिहासिक सम्पदा अवलोकनको कार्यतालिका सार्वजनिक भएको छ।
परराष्ट्र मन्त्रालयले राष्ट्रपति हमिद काठमाडौं ओर्लिएलगत्तै मङ्गलबार नै भक्तपुरस्थित ऐतिहासिक दरवार क्षेत्र अवलोकन गर्न जाने जनाएको छ। सडकमार्गबाट भक्तपुर दरवार स्क्वायर जाँदा सर्वसाधारणहरु ट्राफिक जाममा पर्ने भएकाले हेलिकोप्टर प्रयोग गर्न लागिएको बताइएको छ।
हमिद मङ्गलबार मध्यान्ह १२ बजेर ४५ मिनेटमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेर त्यहाँबाट नक्सालस्थित होटल मेरियट पुग्नेछन्। होटलमा केहीबेरको विश्रामपछि उनी नारायाणहिटीस्थित हेलिप्याडबाट हेलिकोप्टरमार्फत भक्तपुर प्रस्थान गर्ने कार्यतालिका रहेको छ।
हमिद सवार हेलिकोप्टर भक्तपुरस्थित नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयको हेलिप्याड प्रयोग गरिनेछ। त्यसैगरी भक्तपुरबाट फर्कदा नारायणहिटीमा हेलिकोप्टर अवतरण गरिने छ। राष्ट्रपति हमिदले भक्तपुरमा करिव २ घण्टा बिताएर अपरान्ह सवा ५ बजे काठमाडौँ आइपुग्ने कार्यतालिका छ।