काठमाडौं– सीमानामा भारतले एकलौटी निर्णय गर्दै बल मिच्याइँ गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। नेपाली भूभाग मिचिएको बारे प्रत्रिक्रिया दिँदै उनले भारतले सीमामा मनोमानी गर्न लागेको बताएका हुन्।
आइतबार अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने जानकारी दिएका छन्। नेपालको कालापानीलाई भारतले उसको राजनितिक नक्सामा राखेर एकपक्षीय निर्णय गरेको उनको तर्क छ।
नेपालको सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिने बताउँदैउनले अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर भारतले त्यसलाई सीमा भन्दै आएको र त्यसमा नेपाल कदापि सहमत नहुने प्रतिक्रिया दिएका छन्। नेपाल सरकारले औपचारिक रुपमा भारतले एकपक्षीय रुपमा बनाएको नक्सामा असहमति जनाइसकेकोउने स्मरण गराए।
मन्त्री ज्ञवालीसँगको भेटमा अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेको बताइएको छ।