धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले राजीनामा दिएका छन्। आइतवार रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्।
मन्त्री रावलमाथि जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भएको थियो र सम्पत्ति सुद्धीकरणले पनि उनीमाथि छानबिन थालेको थियो। राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप लागेको थियो।
रावलसहित ३६ जनाविरुद्धको उजुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुसन्धान गरेको थियो। प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा अभियोग पत्र दायर गरेको थियो।
रावलविरुद्ध भदौमा मुद्दा दर्ता भएको थियो। तर उनी कात्तिक ६ गते मात्रै अदालतमा उपस्थित भएका थिए र त्यसै दिन रावलको बयान लिइएको थियो। सोही दिन बयान सकिएर थुनछेक आदेश समेत जारी भएको थियो। जिल्ला न्यायाधीश गोपाल वास्तोलाको इजलाशले रावललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो।