काठमाडौँ– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग छिट्टै निर्माण प्रकृयामा जाने बताएका छन्।
३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले गरेको विज्ञहरुसंगको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौँडा–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदीबाट कुलेखानी सम्म सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकार दृढ रहेको बताए।
भीमफेदी–कुलेखानीको यात्रा १६ किलोमिटर जोखीमयुक्त रहेकोले साढे ३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिने उनले जानकारी दिए। मकवानपुरको चुरियामाइमा १ सय २ वर्षअघि नै ४ सय मिटर सुरुङ बनेको जानकारी दिदैं उनले हालसम्म किन नेपालमा सुरुङ मार्ग बन्न सकेन भन्दै प्रश्न गरे।
उनले भने–‘त्यतिबेला अमलेखगञ्जबाट भीमफेदी आउने गाडी त्यहि सुरुङमार्ग भएर आउने गरेका थिए।’ ‘नेपाली इन्जिनियरले त्यतिबेला बनाएको सुरुङ अहिले पनि जस्ताको तस्तै रहेको भन्दै उनले भने–‘त्यसपछि खोई त नेपालमा सुरुङमार्ग ?’
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गरी सडकलाई फराकिलो गर्न सके २ सय २७ किलोमिटर लामो बाटो ५१ किलोमिटरमा झार्न सकिने भन्दै पेट्रोलियम पदार्थको खर्च कम गर्न सकिने धारणा राखे, सुरुङमार्ग बनाएर बाँकी बाटो फराकिलो पारिने पनि उनको भनाई थियो।
यस्तै, मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको पहिलो प्राथमिकता एकीकृत वस्ती विकास कार्यक्रम रहेको जानकारी दिए। एकीकृत बस्ती विना गरिने विकास दिगो हुन नसक्ने भन्दै यसको विषयमा सरकार गम्भीर रहेको बताए। सरकारले लक्ष्यअनुसार काम गर्न निरन्तर लागिरहेको बताए। बिगतमा विभिन्न कानुनी र व्यावहारिक कठिनाइका कारण काम गर्न समस्या भएपनि अहिले हल हुँदै गरेको उनको धारणा थियो।
यसैगरी मुख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा योजनामा डुप्लिकेशन भएको भन्दै तालमेल गरेर योजना बनाउनु पर्ने कुरामा उनको जोड थियो। विभिन्न समस्याका बाबजुद प्रदेश सरकारले गर्न सकिने र दीर्घकालीन योजना अघि बढाउन चाहेको उनको भनाइ थियो। यस्तै प्रदेश सरकारले हेटौंडामा विमानस्थल निर्माण गने त्यसको तयारी अघि बढिसकेको जानकारी दिए।
दुई पटक विज्ञको टोलीले अनुसन्धान गरिसकेको जानकारी दिदैं अन्तिम अनुसन्धानपछि मात्र विमानस्थल निर्माणको बिषय अघि बढ्ने उनले बताए।बीबीसी