काठमाडौं– गणेशमान सिंह नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष हुन्। उनको १ सय ५ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ छ। नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्। आज बिहान काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा माल्यार्पण गरिएको छ।
माल्यार्पण कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, पूर्वमन्त्री राजन केसी लगायत सहभागी भएका थिए। गणेशमान सिंहको छोरा एवम् काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह भने आजको कार्यक्रममा देखिएनन्। गणेशमान सिंहसँग सम्बन्धित कार्यक्रममा सधैं सहभागी हुने गरेका थिए। उनी अमेरिकामा रहेकाले कार्यक्रममा सहभागी हुन नपाएको उनको सचिवालयले बताएका छन्।
गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्तीको अवसरमा दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ ५ बजे नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले रत्नपार्क शान्तिवाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ। राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ।
सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए। उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन्।