काठमाडौं– भारतले आफ्नो नक्सामा लिपुलेक कालापानीसहित नेपाली भूभागलाई पारेपछि नेपालमा त्यसको विरोध जारी छ। विभिन्न विद्यार्थी संगठन तथा नागरिक समाजले त्यसको विरुद्ध प्रदर्शन गरिरहेका छन्।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघलाई आन्दोलन जारी राख्न निर्देशन दिएका छन्। उनले भारत विरोधि आन्दोलन थप शसक्त बनाउन आग्रह गरेका छन्। लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग शनिबार बिहान बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेका हुन्।
यसअघि नै देउवाले नेपाली भूभाग भारतको नक्सामा समेटिएकोमा आपत्ति जनाइसकेका छन्। उनले भारतीय राजदूतलाई टेलिफोन गरी लिपुलेक र कालापनि नेपालको जमिन भएको स्पष्ट पारेका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी पनि गराएका थिए।