स्याङ्जा– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार नअल्मलिने जनाएका छन्।
देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको अनावरण गर्दै प्रवक्ता बाँस्कोटाले सरकारकोतर्फबाट सीमाको विषयमास्पष्ट दृष्टिकोण आइसकेको बताए।
‘आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको छ’ प्रवक्ता बाँस्कोटाले भने, ‘इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक छ।’
उनले सरकारसँग राष्ट्रप्रेमको अडान रहेकाले पनि सरकार नअल्मलिने जानकारी दिए। ‘सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ’, प्रवक्ता बाँस्कोटाले भने, ‘सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ।’
‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ’, प्रवक्ता बाँस्कोटाले भने, ‘विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा र्पुयाउनेछौं।’