एजेन्सी– भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको नेपालले दाबी गरेको छ। सो कुरालाई भारतले अस्वीकार गरेको छ।
नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दाबी छ। भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ। यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो।
बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय स्वीकार नगरेको बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो।
जवाफमा प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ र नक्सामा सीमा हेरफेर गरिएको छैन।’ तर नेपालसँगको सीमा विवादको बिषया भने दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनले जानकारी दिए।
उनले सीमा विवादबारे दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत पनि गराए।