काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गरेका छन्।
खनालको अनुसार बिहीबार विज्ञप्ति जारी गर्दै भारतले हालै प्रकाशित गरेको नक्साले नेपाली भूभाग अतिक्रमित भएको प्रष्ट पारेको छ। नेपालको सीमाना महाकाली नदीले निर्धारण गरेको र त्यो भनेको लिम्पियाधुराबाट निस्किएको काली नदी भएको भन्दै खनालले त्यसपूर्वका नापी, गुन्जी र लिपुलेक लगायतका भूभाग नेपालको भएको जनाए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनालले भने, ‘नेपालको पश्चिमोत्तर सीमाना सुगौली सन्धीले नै निर्धारण गरिसकेको छ। त्यो सीमानालाई चलाउने अधिकार कसैलाई छैन।’
उनले भनेका छन्, ‘यसबारे ऐतिहासिक कालदेखिका तथ्यांकहरु प्रस्तुत गर्न, भारत सरकारसँग अविलम्व वार्ता गर्न र कूटनीतिक ढंगले समस्या समाधान गर्दै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डाताको रक्षा गर्न न नेपाल सरकारसँग जोडदार आग्रह गर्छु।’