विराटनगर– आगामी मङ्सीर १४ गते मोरङ जिल्लामा हुने एक वडाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। धनपालथान गाउँपालिका–२ को वडाध्यक्ष पदका लागि हुने मतदानका लागि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो।
उक्त कार्यालयले यही कात्तिक २७ गते मनोनयन पत्र दर्ताका लागि आह्वान गर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए। उक्त निर्वाचनमा वडाका एक हजार ९२७ महिलासहित चार हजार ७४ मतदाताले आफ्नो जनप्रतिनिधि चुन्ने छन्।
वडाध्यक्ष तत्कालीन नेकपा (एमाले) तर्फबाट विजयी बलिराम भगतको २०७५ जेठ २४ गते मृत्यु भएकाले सो स्थानका लागि उपनिर्वाचन हुन लागेको हो। जिल्लामा २०७६ साउन १७ गतेसम्ममा महिला तीन लाख ३० हजार, तेस्रो लिङ्गी दुई गरी जम्मा छ लाख ७२ हजार ९७५ मतदाता छन्।
रासस