दाङ– नेकपाका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने जनाएका छन्। उनको अनुसार राजनीतिक आन्दोलन र परिवर्तनमा दाङले ठूलो भूमिका खेलेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त छ।
‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ’, दाङमा बुधबार बिहान सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइको थिएँ र भोलि पनि गर्नेछु।’
प्रदेशको राजधानी कुन जिल्ला बन्ने भन्ने कुराको टुङगो लागिसकेपछि विकास प्रक्रिया अघि बढ्ने बताउँदै प्रचण्डले भने, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ।’ दाङ पुग्दा आफूलाई न्यानो अनुभूति हुने गरेको भन्दै प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्सा गरेका छन्।
उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै उनले चुनाव सफल बनाउनुपर्ने बताए। प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला उनले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे।
हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल छ। प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल दाङबासी हुन्। तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङबासीले नेताहरुको आलोचना गर्दै आएका छन्।