राँझा– बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा सिफारिश भएपछि बाँकेवासी खुशी भएका छन्।
दुई पटक सांसद भएका परियारलाई सरकारले प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त सिफारिश गरेको हो। परियारको स्थायी बसोबास अहिले कोहलपुर नगरपालिका–१२ निबुवामा छ।
दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर परियारले यो निर्णय बाँकेवासीका लागि मात्र नभई समग्र देशभरका दलित समुदायका लागि पनि खुशीको विषय भएको बताएका छन्। संविधानसभा सदस्य दिनेशचन्द्र यादवले दुई पटक सांसद भइसकेका परियारलाई पार्टीले प्रदेश प्रमुख बनाएर राम्रो काम गरेको बताए।
बाँकेको व्यक्तिलाई प्रदेश प्रमुख बनाउने निर्णयले बाँकेवासीमा खुशीयाली थपेको उनले बताए। ‘पार्टीले योगदान गरेको व्यक्तित्वलाई सम्झिएर अवसर दिएको छ, कम्युनिष्ट पार्टी बनाउनमा उनकोे ठूलो योगदान रहेको छ’, नेकपा बाँकेका अध्यक्ष एवं प्रदेशसभा सदस्य आइपी खरेलले भने, ‘उनलाई प्रदेश प्रमुख बनाउने निर्णय बाँकेवासीका लागि खुशीको कुरा हो।’
रोल्पाबाट शुरुमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौनामा बसाइँ सर्नुभएका परियार विसं २०५० पछि कोहलपुर आएका हुन्। उनी बाँकेको कम्युनिष्ट आन्दोलनमा अगुवा नेता मानिनुहुन्छ। तत्कालीन माओवादीका सचिवालय सदस्यसम्म भएका परियार स्व गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले माओवादीलाई अन्तरिम व्यवस्थापिका संसदमा ८३ सिट दिँदा सांसदमा परेका थिए। विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नं १ बाट परियार विजयी भएका थिए।
तत्कालीन नेकपा माओवादी विभाजन हुँदा शुरुमा मोहन वैद्यको पार्टीमा लाग्नुभएका परियार पछि विप्लव समूह हुँदै माओवादी केन्द्रमै फर्किएका थिए। शिक्षामा स्नातक उत्तीर्ण परियार विगतमा शिक्षकसमेत भएका थिए।
भारतमा काम गर्दै पढ्दै गरेका उनी एसएलसी उत्तीर्ण गरेपछि रोल्पा फर्किएका थिए। उनी केही समय रोल्पामा शिक्षक पनि भएका थिए। उनले भूमि सुधार कार्यालयमा खरिदारको कामसमेत गरेका थिए। रासस