रौतहट– बम विस्फोटमा घाइते भएकालाई ज्यूदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका सांसद मोहम्द अफताव आलम विरुद्ध आज जन्मकैदको मागदाबीसहित मुद्दा दर्ता हुदै छ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान पूरा गरि ८ सय पेजको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरिसकेको छ। प्रतिवदनको अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ताको तयारी गरेको छ।
प्रहरीले आलमलाई सर्वस्वसहित जन्मकैद वा आजीवन काराबासको सजायँ मागदाबी गरेको छ। प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते आलमलाई रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
पहिलो संविधानसभा निर्वाचनको बेला २०६४ चैत २७ गते राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही बम विष्फोटमा घाइते भएकाहरुलाई जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रुपमा मुद्दा चलाइँदै छ।