काठमाडौं– आइतवार प्रधानमन्त्री केपी शर्मा ओली फेरी अस्पताल गएका छन्। आज विहान ९ बजेपछि प्रधानमन्त्री ओली डायलाइसिस गर्न का लागि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन्।
डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान गरेका र अस्पतालबाट आएपछि मन्त्रिपरिषद् र सचिवालय बैठक हुने प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बुधबार प्रधानमन्त्री ओली मिर्गौलामा पुन समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। बुधबार र विहीवार डायलाइसिस गरिएपछि ओली विहीवार साँझ बालुवाटार फर्किएका थिए।
शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको बताएका थिए। उनले बैठकमा नेताहरुलाई भनेका थिए, ‘छिनछिनमै असहज भएपछि डायलाइसिस गरिएको थियो, भोलि फेरि डायलाइयिसस गर्नुपर्ने छ तर म एकदमै सिकिस्त छैन।’ बैठकमा ओलीले नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारेमा दुईवटा विकल्प मात्रै छन् भनेका थिए।
आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। त्यस्तै सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आज बस्दैछ।