काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला नियमित डायलासिस वा पुनः प्रत्यारोपण गनुपर्ने भएको छ। केहि दिनअघि ग्राण्डी अस्पतालमा उनको मिर्गौला दुई पटक डायलासिस गरिएको थियो।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बंठकमा उनले आफू धेरै बिरामि नभएपनि मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएको बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प भएको बताएका हुन्।
प्रधानमन्त्री ओली बिहीबार दोस्रो पटक डायलासिस गरेपछि ग्राण्डी अस्पतालबाट बालुवाटार फर्किएका थिए। उनको मिर्गौला आज वा भोलि फेरि अर्को पटक डायलासिस गर्नुपर्ने चिकित्सकले बताएका छन्। नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
त्यसअघि स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए। २७ साउन स्वदेश फर्किएका उनी ५ भदौमा फेरि सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो।