काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) केही समय अगाडि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्राण्डी अस्पताल पुगेका छन्।
केही समय अगाडि मात्रै नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत प्रधानमन्त्री ओलीको अवस्था बुझ्न अस्पताल पुगेका थिए। प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस भइरहेकाले श्रेष्ठ र रावलले उनलाई भेट्न पाएनन्।
सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए। चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको जानकारी दिएको बताए। यस्तै, नेता भीम रावलको अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको हो।
बुधबार स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल भर्ना भएका थिए। ग्राण्डी अस्पतालमा भर्ना भएपछि बुधबारै प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिएको जनाइएको छ। बिहीबार पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस हुँदै छ।