काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना सबै कार्यकर्तालाई एक हुन आह्वान गरेका छन्। शनिवार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ द्धारा आयोजित ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’ मा उनले लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका हुन्।
सभापति देउवाले नेपाली जनताको लडाइँ, सङ्घर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रमाथि सरकारले आक्रमण गर्न खोजेको आराेप लगाएका छन्। लोकतन्त्रको रक्षाका लागि पनि कांग्रेस एकजुट हुनैपर्ने उनले बताए। सरकारमाथि संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको पूर्वप्रधानमन्त्री देउवाको आरोप रहेको छ।
उनले पार्टीभित्र अन्तर्घात बढेकाले विभिन्न निर्वाचनमा पिछडिनु परेको बताए। त्यस अवसरमा उनले चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे।
क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेशसभा सदस्य जीवन डङ्गोल, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जनलगायतले आफ्नो जिम्मेवारीअनुसार काम गरे मात्र कांग्रेस बलियो हुने बताउनुभएको थियो।