भक्तपुर– उपनिर्वाचनको लागि भक्तपुरमा ५४ मतदान केन्द्र तोकिएको छ। जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि मतदानस्थल तथा केन्द्रहरूकाे टुङ्गो लगाएको हो।
उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको यसक्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले बताएका छन्।
मुख्य निर्वाचन अधिकृतमा भने भक्तपुर जिल्ला अदालतका न्यायाधीश जगतनारायण प्रधानलाई नियुक्त गरिएको छ। वि.सं २०७४ मा भएको निर्वाचनमा निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचन हुन लागेको हो।
यस क्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन्। निर्वाचनको आवश्यक सबै तयारीहरु धमाधम भइरहेको बिसीले जानकारी दिए। निर्वाचन आगामी मङ्सिर १४ गते हुनेछ।