काठमाडौं– बलतकारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महारामाथि अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
दोस्रोपटक महरालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार २० दिन लगाएर तयार पारेको रायसहितका महारामाथिको मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ।
स्रोतको अनुसार महारालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुव्र्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन पनि सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ।
मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकारसमेत सरकारी वकिलको कार्यालयलाई छ। यस सम्बन्धीको निर्णय भने शुक्रबार आउने सम्भावना कम रहेको स्रोतले बताएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी साहीमाथि बलात्कार प्रयासको आरोपमा उनलाई गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।