काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट एकताको कुरा गर्दागर्दै मदन भण्डारीको हत्या भएको बताएका छन्। शुक्रबार नेकपा मोरङले गरेको सांस्कृतिक चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रमा बोल्दै उनले यस्ताे खुलासा गरेका हुन्।
उनले भने ‘२०४६ सालपछि एमाले र एकता केन्द्रलाई मिलाउनुपर्छ भन्नेकुरा मसँग र मित्र मदन भण्डारीसँग पनि थियो। एमाले र एकता केन्द्र मिलाउन सकिन्छ कि सकिँदैन भन्ने बिषयमा एकपल्ट एजेन्डामै बसेर हामीले छलफल गर्ने निधो गर्यौँ। कार्यक्रमको पनि तय भयो। त्यस्तै खानेकुराको लिस्ट पनि बनाइयो।’
प्रचण्डले इतिहासको त्योपल सम्झदै भने, ‘त्यो दिन आएको भए के हुन्थ्यो होला भनेर मैले सोच्छु। त्यो दिन आएको भए मदन भण्डारी पनि सिर्जनशील ढंगले सोच्ने म पनि नयाँ ढंगले सोच्ने भएकाले मिल्न सक्थ्यौँ।’ त्यो एकता भएको भए प्रचण्डले लेनिनले भनेजस्तै इतिहासलाई ५० वर्ष अगाडि बढाउन सकिने कुरा उल्लेख गरे।
लेनिनले भनेका छन्, ‘नेताले सही समयमा सही निर्णय लिए भने इतिहास सय–५० वर्ष अगाडि ल्याउन सक्छन्। नेताले गलत निर्णय लिए भने सय वर्ष पहिला हुने काम सय वर्ष पछि पनि जान्छ।’ यो उनले धेरै अनुभवबाट भनेका हुन्’, प्रचण्डले भने, ‘आज लाग्छ मदन भणडारीसँग एकताका लागि वार्ता भएको भए टुंगोमा पुग्थ्यो।’
सबैलाई उनले आफूलाई मदन भण्डारीसँग दाँजेर हेर्नपनि आग्रह गरेका छन्। ‘मदन भण्डारीको विकासको संयोग र प्रचण्डको विकासको संयोगमा के समानता थियो के थिएन भन्ने बारेमा तपाईंहरुले विचार गरिदिनुहोला’, प्रचण्डले थपे, ‘त्यसो भएमा मदन भण्डारीलाई बुझ्न पनि प्रचण्डलाई बुझ्न पनि र अहिलेका नेता केपी ओली र अन्य नेतालाई बुझ्न पनि सजिलो हुन्छ भनेर सबै कमरेडलाई भन्न चाहन्छु।’
‘यो एकता विचार नमिलेर भएको होइन विचार मिलेर भएको हो। एमालेको नवौँ महाधिवेशनको लाइन, माओवादीको हेटौँडा महाधिवेशन र पछि एकता अधिवेशनको डकुमेन्टका आधारमा एकता भएको हो’, प्रचण्डले भने, ‘एउटाले संघर्षमा जानुपर्छ भनेको भए र अर्कोले शान्तिमा जानुपर्छ भनेको भए पनि अलग हुन्थ्यो। विचारको एकताको कारण नै यो एकता सम्भव भएको हो।’