रौतहट– बम बिस्फोटको घटनामन घाइते भएकालाई इँटाभट्टामा हाली जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ।
शुक्रवार जिल्ला अदालत रौतहटका न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानकोलागि ८ दिनको म्याद थप गरेको हो। यो तेस्रो पटक उनलाई अनुसन्धानकोलागि म्याद थप गरिएको हो।
आलम घटना घटेको १२ वर्षपछि २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ परेका थिए।
२०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको बेला राजपुरस्थित पूर्वमन्त्री सेख इदृसको गोठमा बम बिस्फोट भएको थियो। सोही घटनामा आलमसहित ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो।