काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सरकार संविधान संशोधनको लागि तयार नभए सरकार छोड्ने जनाएका छन्। गोरखामा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले नै संविधान संशोधनमा ध्यान नदिएको प्रतिक्रिया दिँदै भट्टराइले संविधान संशोधनका लागि पार्टी सरकारमा सामेल भएको बताए। उनले समाजवादी पार्टी सत्ताको लागि नभई संविधान संशोधनको लागि सरकारलाई दुई तिहाईको मत दिन सामेल भएको जानकारी दिए।
संविधान संशोधनलाई सरकारले वेवास्ता गरेका कारण पार्टीले औपचारिक निर्णय गर्दै सरकार छोड्न सक्ने उनले बताए। मुख्य एजेन्डा नै सम्बोधन हुने छाँटकाँट नभएका कारण सरकारमा बसिराख्नुको औचित्य नरहेको भन्दै अब पार्टी सरकार छाडेर जनताको बीचमा जाने उनको भनाई छ।
भट्टराईले भने, ‘पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकल औपचारिक रूपमा सरकारबाट बाहिरिने निर्णय गर्नेछ।’ समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने धम्की दिएपछि सरकारले यस विषयमा चासो दिन्छ कि भन्ने अनुमान शुरु भएको छ।