काठमाडौं– प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद काङ्ग्रेसले पाउनुपर्ने नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। सत्तारुढ नेकपाले राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेले यस्तो बताएका हुन्।
तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनले पदबाट राजिनामा दिएका थिए। त्यसपश्चात् सभामुखको पद रिक्त भएको छ। नेता पौडेलले कानुनी व्यवस्थाअनुसार सभामसख र उपसभामुख एउटै दलको नहुने भन्दै काङ्ग्रेसलाई दुईमध्ये एक पद चाहिने जानकारी दिएका हुन्।
सभामुख र उपसभामुख पार्टी एकताअघि नै चयन भएको भन्दै नेकपाले कांग्रेसलाई सो पद दिएको छैन। एमाले र माओवादी फरक फरक दल हुँदा दुबैले सभामुख र उपसभामुख लिएका थिए।
राजनितिमा नैतिककाको कमी भएको बताउँदै उनले यदि सरकारले एक पद नदिएमा सडक र सदनबाट दबाब दिने चेतावनी दिएका छन्। एमाले र माओवादीको पार्टी एकतापछि एउटा पद आफूले पाउनुपर्ने माग कांग्रेसले गर्दै आएको छ।