जनकपुर– बिमानस्थलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोद कुमार साहको रिहाईको माग गर्दै राजपा, नेपालले बुधबार जनकपुरमा आन्दोलन गरेको छ। उनीहरुले बिहानै जनकपुरमा एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरे।
पूर्वपश्चिम राजमार्गअन्तरगत जनकपुरस्थित रामानन्द चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए। ‘पार्टिको निर्णयअनुसार नै प्रदर्शन भएको हो,’ राजपाका केन्द्रिय प्रवक्ता कृष्णा सिंहले नेपाली पब्लिकसँग भने, ‘सांसद साह बिनाशर्त रिहा हुनुपर्छ।’ घटनामा सांसद साह र बुद्ध एयर दुबैको समान गल्ति भएकाले यस घटनालाई अतिरञ्जित बनाउन नहुने उनको भनाई छ।
पक्राउ परेका सांसद साहको रिहाइ र बुद्ध एयरको बिरुद्धमा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन्। यसपछि, राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने तथा सर्वदलीय बैठकका लागि जनकपुर उद्योग वाणिज्य सङ्घसहित विभिन्न संघ संस्था लगायतकाहरुसगं बैठक बसि आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना राजपाका् छ।
मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर बिमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
उनको पक्राउको विरोधमा मङ्गलवारदेखि नै राजपा नेपाल चरणबद्ध आन्दोलनमा उत्रेका छन् । प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।