काठमाडौं– दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ। सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ गरेको थियो।
दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलतर्फ जाँदा उनको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर बिदाइका लागि प्रतीक्षारत थिए। उनीहरूले करीब दुई घण्टाको प्रतीक्षापछि राष्ट्रपति सीलाई बिदाइ गर्न पाएका थिए।
राष्ट्रपति सी सोल्टी होटलबाट विमानस्थल जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उनलाई नेपाल र चीनको झण्डा हल्लाएर बिदाइ गरेका थिए। बिदाइका क्रममा उनलाई विभिन्न जातजातिको पहिचान झल्कने झाँकी, पञ्चैबाजा र नाचसमेत प्रदर्शन गरिएको थियो।
कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डल, बबरमहल, नयाँबानेश्वर, तीनकुने र विमानस्थलद्वारसम्म उनको बिदाइका लागि सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियोे। दिउँसो प्रचण्ड गर्मीको प्रवाह नगरी कर्मचारी र सर्वसाधारण सडकमा राष्ट्रपति सीको बिदाइका लागि ओर्लिएका थिए।
सधैँ टेलिभिजन र पत्रपत्रिकामा देखेका राष्ट्रपति सीलाई नजिकैबाट स्वागत र बिदाइ गर्न पाउँदा सर्वसाधारण हर्षित देखिन्थ्ये। शनिबार अपराह्न ४ः४५ बजे दुई दिने राजकीय भ्रमणका लागि आएका उनी आज २ः१५ बजे स्वदेश फर्केका छन्। राष्ट्रपति सीलाई स्वागतका लागि स्वागतद्वार, परम्परागत संस्कृति झल्कने ब्यानर, सडकको दुवैतर्फ फूलसमेत राखिएको थियो।
चिनियाँ विशिष्ट पाहुनाको आवागमन हुने सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबारदेखि दुईदिने राजकीय भ्रमणमा यहाँ आएका हुन्। (रासस)