काठमाडौं– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युरो इञ्चार्ज नवीन बीक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले पूर्व राज्यमन्त्री बीकलाई ललितपुरबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतले गएराति बिक पक्राउ परेको पुष्टि गरेको छ। उनलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन। अघि प्रहरीले उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो। त्यसपछि विप्लव समूहले विकलाई लामाले सम्हाल्दै आएको उपत्यका इञ्चार्जको जिम्मेवारी दिएको थियो। तर, जिम्मेवारी सम्हालेको केही महिनामै बिक पनि पक्राउ परेका छन्।
बिक तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष संलग्न भएका व्यक्ति हुन्। शान्ति प्रक्रियामा आएपछि एकीकृत माओवादीले उनलाई भेरी–कर्णाली राज्य समितिको सचिवालयको जिम्मेवारी दिएको थियो। ०६४ मा बनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा त उनी तत्कालीन माओवादीको तर्फबाट स्थानीय विकास राज्यमन्त्री नै बनेका थिए।
मोहन वैद्यले माओवादी विभाजन गराउँदा प्रचण्डसँगै रहेका उनी पछि वैद्यतिरै लागेका थिए। वैद्यबाट विप्लव अलग भएपछि उनले विप्लवको साथ रोज्दै विविध गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका थिए।