काठमाडौं– नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हुँदैछ। समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोर्ध र्यालीसहित सभा गरिने पार्टी कार्यालयले जनाएको छ।
नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको थियाे। यसबाहेक जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइने बताइएकाे छ। विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
पार्टी सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले भेट्ने कार्यक्रम तय भएकाले त्यहाँ उपसभापति निधिलाई पठाइएको कांग्रेसले जानकारी दिएकाे छ।
जागरण अभियानको यसअघिका १४ दिनमा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो। जसअनुसार अभियानको उद्घाटनको दिन भदौ २५ गते जननायक बिपी कोइरालाको १ सय ६ औँ जन्मजयन्तीको प्रतीकस्वरुप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चितस्थलमा १ सय ६ बिरुवा वृक्षरोपण गरिएको थियो।
समापनका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले समेत विभिन्न जिल्लाका सभालाई सम्बोधन गर्नेछन्। जागरण अभियानको समापनका अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा शंशाक कोइरालाले खोटाङ, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौँ, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गर्नेछन्।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सङ्गठन सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य राखेर अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा मुलुकभर वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिएको थियो।
यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिएको छ । साथै कांग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरुप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वा्चित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि विभिन्न स्तरमा अन्तरक्रिया कार्यक्रम गरिएको पार्टी कार्यालयले बताएकाे छ।