काठमाडौं– प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाको ‘प्रहरी पनि नेकपाका कार्यकर्ता जस्ता भए’ भन्ने भनाइको जवाफ दिँदै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सिंहदरबारको गेटमा आफूले प्रहरीको कुटाई खाएको नबिर्सिएको बताएका छन्।
‘दौरा सुरुवाल, टोपी र कोट ढल्काएर पछि त सरकारका प्रहरीले चिन्छ भनेर सिंहदरबारबाट जनतासँग भेट्न जाँदै गर्दा सिंहदरबारको गेटमा कुटाइ खाएको हामीले बिर्सिएका छैनौं, उनले भने, ‘हामी प्रतिपक्षीका साथीहरुसँग लामो समयसँगै हिँड्दै यहाँसम्म आइपुगेका छौं, हामीलाई हाम्रा पृष्ठभूमी थाहा छ, कसले के गर्नुभयो मैले त्यो टिप्पणी गर्न खोजेको होइन।’
सबै मिलेर संविधानको कार्यान्वयन र रक्षा गर्नुबाहेक अर्को विकल्प नरहेको नेम्वाङले बताए। ‘परिवर्तनलाई संस्थागत गर्न संविधान ल्याएर ऐतिहासिक काम गरेका छौं। महत्वपूर्ण आधार खडा गरेका छौं। अब यो देशमा परिवर्तनका लागि राजनीतिक आन्दोलन गर्नुपर्दैन’, नेम्वाङले भने,‘सशस्त्र क्रान्ति गर्नुपर्दैन। अब समृद्ध नेपाल सुखी नेपाली व्यवहारमा उतार्नुपर्छ।’
‘अब नेपालीहरु निराश हुनुपर्ने कुनै कारण छैन,’ नेम्वाङले भने। ‘यो महत्वपूर्ण र सकारात्मक कुरा हो। हाम्रो शिर ठाडो पार्ने कुरा छन्। हाम्रो छाति फुल्ने कुरालाई अगाडि सार्न कोही पनि नभुलौं। यस सन्दर्भमा केही कमी कमजोरी भएका छन् भने त्यसलाई मिलेर सच्याएर अगाडि बढौँ’, उनले भने,‘अलिकति पनि निराश हुनुपर्ने अवस्था छैन।’ कमिकमजोरी भएमा त्यसलाइ सच्याएर अगाडि बढ्न तयार रहेकाे पनि नेम्वाङले जानकारी दिए।