काठमाडौं– कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार विकास निर्माणका काममा सुस्त र भ्रष्टाचारमा चुस्त भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार सदनलाई सम्बोधन गर्दै देउवाले यस्तो आरोप लगाएका हुन्।
‘वर्तमान सरकार विकास निर्माणमा सुस्त र भ्रष्टाचारमा चुस्त देखिएको छ’, देउवाले भने, ‘वाइडबडी जहाज, बालुवाटार जग्गा प्रकरण यसका उदाहरण हुन्।’ सरकारले जनताको शान्ति सुरक्षा गर्न नसकेको समेत देउवाकाे आरोप लगाए छ। कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खजुरामा भएको कार्यक्रममा आक्रमण हुँदा सरकार र प्रहरी मुकदर्शक बनेको भन्दै उनले आपत्ति जनाए।
‘के अब शान्तिपूर्ण कार्यक्रम गर्न नपाइने हो?’, देउवाले प्रश्न गर्दै भने, ‘हाम्रा जिल्ला नेताको हात भाँचिएको छ। नेकपा कार्यकर्ताले आक्रमण गर्दा किन प्रहरी प्रशासन चुप बस्यो? प्रहरी नेकपा वा कसैको कार्यकर्ता होइन। उसको काम शान्ति सुरक्षा गर्ने हो। तर त्यो किन भएन?’
जनताको करबाट तलब खाने प्रहरीले कार्यकर्ताको जस्तो व्यवहार गर्ने प्रवृत्तिको उनले चर्को विरोध गरे। ‘जनताको करबाट तलब बुझ्ने प्रहरीले पार्टी कार्यकर्ताको जस्तो व्यवहार गर्न मिल्छ?’, उनले भने, ‘यो प्रवृत्ति हामीलाई स्वीकार्य छैन।’ देउवाले बजार मूल्य बढेकोप्रति सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाए। ‘के बजार मूल्यबारे प्रधानमन्त्रीलाई केही थाहा छैन’, उनले भने, ‘जनताको मार सरकारले बुझ्न सक्नुपर्छ।’ जनतामा असन्तुष्टि बढ्दै गर्दा सरकार अगाडि बढेको आरोपसमेत उनले लगाए।
‘सरकारका गतिविधिले सबैलाई आक्रोशित बनाएको छ’, उनले थपे, ‘सरकारले बाटो नसच्याए कांग्रेस जनताको साथ लिएर सडक र सदनबाट आन्दोलित हुन्छ।’ उनले सरकारले बाढीपीडितलाई अहिलेसम्म राहत दिन नसकेको, संविधानको हक खोज्ने काम गरेको, वैदेशिक लगानीका लागि अनुकुल वातावरण तयार नपारेको र समृद्धि नारामा मात्र सीमित भएको भन्दै सरकारको आलोचना गरे।