काठमाडाैं — राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २ सय ३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २ सय ३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए भने उक्त प्रस्तावलाई सांसदहरु प्रमिला कुमारी र कोमल ओलीले समर्थन गरेका थिए।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो। बैठकले औद्योगिक व्यवसाय विधेयकलाई स्वीकृत गरेको छ। बैठकमा उद्योगमन्त्री मातृका यादवका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसायी विधेयक, २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे। उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री डा खतिवडाले जवाफ दिएपछि बैठकको सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत गरिएको थियो।
राष्ट्रियसभाले ‘राहदानी विधेयक २०७५’ पुनः विचारका लागि विधायक व्यवस्थापन समितिमा पठाएको छ। बैठकमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले सो विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकार गरेको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते मङ्गलबार अपराह्न ३ बजे बस्नेछ। (रासस)