काठमाडौं– अहिले सामाजिक संजालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई भने चुपचाप बसेको भिडियो भाइरल भएको छ।
यात्रुहरू मन्त्रीले जहाज ढिला गराइदिएको भन्दै भट्टराईसँग रिसाएका छन्। ‘एक घण्टासम्म प्लेन रोक्ने? कहाँ हुनुहुन्थ्यो? मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो?’, भिडियो खिच्दै गरेका व्यक्ति आक्रोशित हुँदै मन्त्रीलाई सोध्छन्’। ‘समयको ख्याल राख्नुपर्छ कि पर्दैन?’ ‘संविधान तपाईँले बनाएको हो। संविधानको कुन चाहिँ सेक्सनमा लेखेको छ मन्त्रीले प्लेन रोक्ने भनेर?’, अर्का व्यक्तिले सोध्छन्।
कहिले प्रधानमन्त्री आउने प्लेन दुई घण्टा जाम गर्दिने।.... यसको जवाफ दिनुस, हामी तपाईँलाई रेस्पेक्ट गर्छैँ तर यो तरिका भएन मन्त्रीज्यू, फेर्नुस्, तपाईँको पद र तपाईँलाई हामी सम्मान गर्छौँ’, भिडियोमा अर्का एक व्यक्तिको चर्को आवाज सुनिन्छ।
‘यो त पञ्चायतमा जस्तै भइसक्यो’ अर्का व्यक्ति भन्छन्। ‘पञ्चायतमा बरु यस्तो थिएन’, भिडियोमा मन्त्रीसँग बढी नै आक्रोशित भएका व्यक्ति भन्छन्। ‘दाइको विश्वास गरेका थियौँ तर भएन....’ अर्का व्यक्ति योगेशलाई हेर्दै भन्छन्। ‘संस्कृति मन्त्री हुनुहुन्छ तर संस्कारै छैन’, चर्को आवाजका व्यक्ति भन्छन्। आक्रोशित यात्रुहरूलाई मन्त्री भट्टराईले भने केही पनि जवाफ दिँदैनन्। उनीसँगै रहेकाहरूले यात्रुहरूलाई सम्झाउन खोजेको तर मन्त्री भट्टराईले प्रतिक्रिया दिन नचाहेको भिडियोमा देखिन्छ।
मन्त्री विमानस्थलबाट जहाज चढ्नुअघि खिचिएको भिडियोमा पनि भिडियो खिच्दै गरेका व्यक्ति जो चर्कोसँग मन्त्रीको विरोध गरिरहेक छन्। उनी मन्त्री आउने भनेर एक घण्टा रोकिएको भनिरहेका छन्। ‘मन्त्रीले सबैसँग माफ माग्नुपर्छ अनि सबै चढ्ने हो...., उनी चिच्याउँछन्।
‘यो बुद्ध एअर हो कि मन्त्रीको चम्चा?’,उनी अझै चिच्याउँछन्। बुद्ध एअरका कर्मचारीलाई पनि यात्रुहरूले जहाज किन रोकिएको भन्दै झाँको झारेका छन्। यसैबीच मन्त्री भट्टराई आइपुग्छन् र जहाज चढ्न लाग्छन्।
आक्रोशित यात्रुहरू मध्ये उनै भिडियोमा चर्को बोल्ने यात्रु मन्त्रीलाई रोक्न खोज्दै भन्छन् ‘एकैछिन मन्त्रीज्यू। यो पाराले भएन। कायर भएर प्लेनमा नचढ्नुस्। हु आर यु (तपाईँ को हो?)’
‘वि वान्ट टु टक विथ द्याट मन्त्री । हु इज द मिनिस्टर? मिनिस्टर इज द सर्भेन्ट अफ दिस कन्ट्री (हामी यो मन्त्रीसँग कुरा गर्न चाहन्छौँ। को हो मन्त्री ? मन्त्री भनेको मुलुकको सेवक हो)’, ती व्यक्ति अझ आक्रोशित भएका छन्, ‘प्लेन रोक्ने ? एकछिन होइन, दुई छिन होइन, देशमा अत्याचार गर्ने?’
ज्ञानेन्द्र शाहीले फेसबुकमा यी भिडियो राखेर लेखेका छन् ‘मन्त्री योगेश भट्टराईले आज नेपालगन्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो। विचरा मन्त्रीज्यू मुसो लुके जसरी लुक्नु भो। अब नागरिक सचेत भइसके। अरिङ्गालका दिन गन्ती सुरु।’
मन्त्री भट्टराईले एक घण्टा नभई कार्यक्रम ढिला भएका कारण जहाज चढ्न आफू १५ मिनेट ढिला भएको बताएका छन्। उक्त भिडियो भाइरल भएपछि मन्त्री भट्टराईले फेसबुकमा स्पष्टिकरण दिँदै १५ मिनेट आफ्ना कारण ढिला भएको स्वीकारेर माफी मागेका छन्।
कैलाली जिल्लाको टिकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रम सकेर बुद्ध एअरको धनगढीको अन्तिम फ्लाइटबाट काठमाडौं फर्कने क्रममा भएको घटनाबारे मन्त्रीले फेसबुकमा लेखेका छन्। ‘कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो’, मन्त्री भट्टराईले लेखेका छन् ‘सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो। प्रतिनिधिसभामा माननीयहरूको प्रश्नको जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडौं फर्कनै पर्ने दबाबमा थियो।’
तीन चार जना व्यक्तिहरू आफूविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएको उल्लेख गर्दै भट्टराईले फेसबुकमा लेखेका छन् ‘एकजनाले पारसविरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुख दिएको छस् ? हामीले कहाँ बिर्सेंका छौँ र? सम्म भने। त्यो सुनेपछि उनीहरूको नियत मैले बुझिहाले’, मन्त्री भट्टराईले लेखेका छन्।
तर भिडियोमा देखिएका ज्ञानेन्द्र शाहीले भने जहाजमा कसैले पनि पारस (पूर्व युवराज पारस शाह) को कुरा नउठाएको तर मन्त्रीले झुठो बोलेको दाबी गरेका छन्। ‘हामीसँग सबै भिडियो छ। पारसको कुरा कसैले उठाएको छैन। गैरजिम्मेवार जवाफ नदिन अनुरोध’, उनले फेसबुकमा लेखेका छन्।
भट्टराईले यात्रुहरूमा आफुले गर्दा भएको असुविधाप्रति माफी मागेका छन्। ‘सम्पूर्ण यात्रु तथा बुद्ध एअरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु। मेरा कारणले यात्रुहरूमा पर्न गएको असुविधाप्रति भने क्षमाप्राथी छु’, उनले फेसबुकमा लेखेका छन्।
ट्विटरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले यो घटनाबारे प्रतिक्रिया दिएका छन्। मन्त्रीसँग आक्रोशित भएका मध्ये एक यात्रुले ‘पञ्चायतकालमा यस्तो हुँदैनथ्यो’ भनेकोबारे उनले टिप्पणी गरेका हुन्।
‘मन्त्री भट्टराईलाई हुलहुज्जत गर्दा कसैले पञ्चायतमा यस्तो हुँदैन थियो भनेको पनि सुनियो’, उनले लेखेका छन्, ’पञ्चायतको अन्त्य गर्दा हामी जो १९–२० वर्षका थियौं, त्यो बेला कसरी दरबारका कसैलाई काँक्रो खान मन लाग्यो भनेर हेलिकप्टरमा खोज्न पठाइन्थ्यो। नेपाली समाजको स्मरण शक्ति शून्य भएको छैन।’