काठमाडौँ - नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सांसद जनार्दन शर्माले असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरीको इन्काउण्टरमा मारिएका भनिएका कुमार पौडेलको बारेमा गम्भिर प्रश्न उठाएका छन्।
आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाका नेता एवं सांसद शर्माले विप्लव माओवादी सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्यालाई पञ्चायती बर्बरताको रुपमा परिभाषित गरे।
शर्माले भने, ‘दुई/तीन दिनमा मैले पौडेललाई कानुन संविधान हुँदाहुँदै पनि निर्मम ढंगले मारिएको बुझें। हात पनि धेरै ठाउँमा भाँचेर छियाछिया पारेर मारिएको भन्ने सूचनाहरू आए। यो घटना हेर्दाखेरी मलाई धनमाया, ललित रोकाको हत्याको सम्झना आयो। घटना पञ्चायती कालमा भएका बर्बरताको जस्तो भयो।’
उनले अगाडि थपे, ‘त्यहाँ किन यस्तो घटना घट्यो। कहाँनेर यो समस्या पैदा भयो भन्ने कुराको यदि बेलैमा सही ढंगले सच्याउन र कारबाही गर्न सकेनौं भने यसले राम्रो दिशातिर लैजादैन। यो घटना हेर्दा मलाई त धनमायाको हत्या भएको सम्झना आयो, लली रोकाको हत्या भएको सम्झना आयो।’
प्रहरीले घटनामा कुमार पौडेको समूहले गोली चलाएपछि आफूहरूले प्रतिरक्षाका लागि फायर गरेको दावी गरे पनि आफन्त र विप्लव माओवादीले भने नियन्त्रण लिएर कुमारको हत्या गरिएको दाबी गर्दै आएका छन्।