श्रीविलास दाहाल
नेपालको राजनीतिक पार्टीहरूको इतिहास त्यही ७०/७५ वर्षको हाराहारीमा रहेको देखिन्छ । सबैभन्दा जेठो संगठित र सैद्धान्तिक पार्टी प्रजा परिषद् नै हो। त्यसैले उसले शहीदहरू दियो। सायद शहीद शुक्रराज शास्त्री प्रजा परिषद्का सदस्य थिएनन् । तर, उनी भारतको स्वामी दयानन्द सरस्वतीले स्थापना गरेको धार्मिक सुधारवादी आन्दोलनका आर्य समाजबाट प्रभावित थिए।
आर्य समाजले मूर्तिपूजा, पैराणिक देवीदेवताको विरोध गर्छ । नारीले वेद, गायत्री मन्त्र पढ्न पाउनु पर्छ भन्ने मान्यता राख्छ । वेद, गायत्री, यज्ञ, नारी स्वतन्त्रता मान्ने संस्थालाई राणाहरूले देखिसहेनन् । पचलीमा शुक्रराज शास्त्रीलाई पनि झुण्ड्याएर फाँसी दिए । दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ सदस्य थिए ।
त्यसपछि बीपी, कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी आदिको प्रयासले वाराणसीमा ‘राष्ट्रिय कांग्रेस नेपाल’ गठन भयो । नेपालबाट धपाइएका सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्यायहरू मिलेर कोलकातामा ‘प्रजातान्त्रिक कांग्रेस’को स्थापना गरेका हुन्। पछि कोलकातामा प्रजा परिषद्का गणेशमान सिंह, राष्ट्रिय कांग्रेसका विश्वेश्वरप्रसाद कोइराला, प्रजातान्त्रिक कांग्रेसका सुवण शमशेर आदिको संयुक्त प्रयासबाट कोलकातामा ‘नेपाली कांग्रेस’ को जन्म भएको हो। टंकप्रसाद आचार्य मानार्थ सभापति भए । राणाहरूले रामहरि शर्मा र अन्यलाई आचार्यसँगै जेल हाले।
२००७ सालको क्रान्ति नेपाली कांग्रेसले गरेको हो। निर्विरोध रूपमा क्रान्तिका नेता विश्वेश्वरप्रसाद कोइराला नै हो। सुवर्णजीहरूको धनबल साथमा थियो। क्रान्तिको अत्यधिक लाभ भने राजा त्रिभुवनले पाए। राजा महेन्द्र, राजा वीरेन्द्रले र अलिकति राजा ज्ञानेन्द्रले पनि पाए। २००७ सालको क्रान्तिमा कम्युनिष्टहरूको कुनै योगदान थिएन। २००८ सालमा डिल्लीरमण रेग्मीको राष्ट्रिय कांग्रेस छाडेर पुष्पलालजी विधिवत् नेपाल कम्युनिष्ट पार्टी गठन गर्न पुग्नुभयो। त्यसैको छत्रछायामा विभिन्न गुट, उपगुट च्याउसरह नेपालमा कम्युनिष्ट उम्रिएका हुन्।
२००७ सालको क्रान्तिले ल्याएको खुलापनको जताततै पसेर अनेक रूप धारण गरेर कम्युनिष्टहरूले भरपूर फइदा उठाए । संगठित रूपले ठूलो उथलपुथल, हिंसा आतंक भने प्रचण्ड र बाबुरामको माओवादी कम्युनिष्टले नै मच्चायो। नक्सलवादी आन्दोलनका मैनाली बन्धु र केपी ओली त्यति प्रभावशाली भएनन्। सारा प्रयास राजाहरू, राणाहरू र कम्युनिष्टहरूको कांग्रेसलाई खत्तम गर्नुमा रह्यो । जताबाट पनि कांग्रेसलाई पछार्नु रह्यो। राजा ज्ञानेन्द्रलाई मोहर चढाएर खुट्टा ढोग्ने र प्रतिगमन सुध्रियो भनेर मन्त्री बन्नेहरू माधव नेपाल र केपी ओली अझै पनि ङ्यारङुर गर्दैछन्।
वर्तमान कम्युनिष्ट झुण्डका शक्तिशाली नेता केपी ओली भने अहिले पार्टीप्रमुख र सरकारप्रमुख छन्। उनले स्थापनाको यो समारोहमा पुराना चारण र भाटभन्दा बढी गुणगान गाएँ । झूठो खेती र शब्दजालका उखान टुक्काका माहिर ओलीले बडो निर्लज्ज पाराले काँगे्रसले कम्युनिष्ट पार्टीलाई एकपल्ट प्रतिबन्ध लाएको कुरा भने भन्न भ्याए तर अर्को तथ्य लुकाए।
नेपाली कांग्रेसमा बीपी कोइराला बाँचुञ्जेल कम्युनिष्टलाई कांग्रेसको नजिक आउन दिएनन्। २०३६ सालमा यस पंक्तिकारले लहानको आमसभापछि बीपी लाई सोधेको थियो। मनमोहनजी संयुक्त आमसभा भन्नुहुन्छ, त्यो राम्रो होइन? उनले प्रस्ट भनेका थिए, बहुदलको पक्षमा उनको सभा रामै्र छ। कम्युनिष्ट प्रजातन्त्र मान्दैनन्, त्यसको दुरुपयोग गर्छन्। आखिर ३६ सालमा मालेले पहेँलैमा ठप्पा लगाए।
स्व. गणेशमानजीले नक्सलाइट र माक्र्सवादीलाई काँधमा नबोकेको भए मनमोहनजी प्रधानमन्त्री हुनै सक्ने थिएनन्। फेरि पछि माओवादीलाई गिरिजा कोइरालाले नच्यापेको भए प्रचण्ड र बाबुराम प्रधानमन्त्री बन्ने थिएनन्। आज नेपाली कांग्रेसमा एउटा मात्र प्रधानमन्त्री जीवित छन्। कम्युनिष्टमा कति छन्? सत्ता त रहेछ सिद्धान्त छैन। औषधिका ओभर डोज खाएर, तासको महलमा बसेर ओलीजी मर्ने बेलामा किन कृतघ्न हुनुहुन्छ? कम्युनिष्टका सत्तरी वर्ष धेरै काला छन्।