शीराम शर्मा, बाँके - नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा सहभागी अनुष्का शेरचनले सबैको ध्यान आफूतिर खिँचिन्। सानो उमेर, सानो कद र कद बराबर ‘बो’ जब उनले उचालेर आफ्नो लक्ष्यमा निशाना लगाइन्, उपस्थित सबैको ध्यान ऊ प्रति खिँचियो।
पोखरा महानगरपालिका -४ रानीपौवा निवासी अनुष्का भर्खरै कक्षा ७ मा बी प्लस नतीजा ल्याएर उत्तीर्ण भएकी छन्। नोभेल सेकेण्डरी पोखरामा अध्ययनरत अनुष्का कान्छी छोरी हुन्। उनको बुबा योगेन्द्र शेरचन आर्चरी प्रशिक्षक हुन्। योगेन्द्र कास्की आर्चरी सङ्घका अध्यक्ष तथा नेपाल आर्चरी सङ्घका सचिवसमेत रहेका छन्।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उनी आबद्ध अन्नपूर्ण आर्चरी क्लब र कास्की आर्चरी सङ्घबीच भएको प्रतिष्पर्धामा छनोट भएपछि उनले पहिलोपटक राष्ट्रियस्तरको आर्चरी प्रतियोगितामा सहभागिता जनाइन्। आर्चरी खेलका लागि चारजना खेलाडी छनोट हुनुपर्छ जसमा तीन जनाले खेल्ने र एकजना अतिरिक्तमा रहने व्यवस्था छ।
त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आबद्ध छन्। योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने उनकी फुपू शान्ति शेरचन पाँचौँ राष्ट्रिय खेलकूदमा आर्चरीतर्फ स्वर्ण पदक विजेता तथा ११औँ ओलम्पिककी उच्च स्कोरर पनि हुन्।
उनका दाजु अनिप शेरचन पनि आर्चरी, फुटबल तथा करातेका खेलाडी हुन्। यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का ११ वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन्। १३ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकुदमा भाग लिने अवसर पाइन्। आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिन्।
कुल ९६ प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ उनलाई नियाले। आफूभन्दा निकै अग्रजसँग प्रतिष्पर्धा गर्नु उनका लागि चुनौतीपूर्ण थियो। कलिलो उमेर, लामो समयको अनुभव र ज्ञानका कुरामा केही कमजोरी भएकै कारण उनी १६ जनासँगको प्रिक्वार्टर फाइनलमा आफ्नै क्लबका खेलाडी अर्चना थापासँग हारिन् तर, उनको त्यो हार त्यतिकै खेर गएन।
यद्यपि, उनले आठौँ खेलकूदको स्टाण्डर्ड ओमेन टिम इभेन्टमा आफ्नो क्लब अन्नपूर्ण आर्चरीलाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलिन्। अनुष्का भन्छिन्, “खेल जितिहाल्छु भन्ने विश्वास त लागेको छैन तर, आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरू सिक्ने अवसर पाइरहेकी छु। उहाँहरुसँग खेल्न पाउनु पनि एक प्रकारको जीत हो भन्ठान्छु।”
आर्चरीमै ओलम्पियन बनेर बुबाआमा र देशको नाम उँचो राख्ने उनको धोको छ। ‘१३औँ सागमा पनि भाग लिन्छु,” अनुष्का भन्छिन्, “आर्चरी मेरो जीवन भइसक्यो। आर्चरीमै रमाउँछु।” अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन्। त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका थिए।
नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन्। उनले भने, “आर्चरीलाई थप व्यावसायिक बनाउन र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्र्याउन हामी लागि परेका छौँ।” सङ्घले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ।
“आर्चरी खेलको प्रवर्द्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ, बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ, हामीलाई यसले थप हौसला दिएको छ,” उनी भन्छन्, “आर्चरी खेलमा भएको सहभागिताले खेलाडीमा उत्साह थपिदिएको छ।”
नेपालमा आर्चरीको शुरूआत विसं २०४४ देखि नै भए पनि आधुनिक आर्चरी खेल शुरु भएको आधा दशक मात्रै भएको छ। खेल्ने ठाउँ र प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी जस्ता कारण नेपालले प्रशस्त सम्भावना भए पनि सफलता हात पार्न नसकेको अध्यक्ष गुरुङको अनुभव छ। उनले भने, “विगतको नेतृत्वले चासो दिएन। अहिले बामे सर्ने अवस्थामा आइपुगेको छ।”
अनुष्का यसरी आइन् आर्चरीमा
अनुष्का शान्त स्वभावकी कम बोल्ने खेलाडी हुन्। हरक्षण केही नयाँ सिक्ने इच्छा राख्ने अनुष्कालाई उनको बुबाले पहिलोपल्ट ११ वर्षको उमेरमा आर्चरी खेल सिकाए। शुरुमा जिज्ञासु हुदै बुबालाई पछ्याउने उनी विस्तारै पछि आर्चरीतर्फ उनले ध्यान नदिएपछि बुबाले पनि करकाप गरेनन्।
पढाइमा औधी रुचि राख्ने अनुष्का १२ वर्ष पार गरेपछि एकदिन स्वतःस्फूर्त रुपमा ‘बुबा मलाई आर्चरी सिकाउनुहुन्नँ’ भनेपछि हर्षित भएका योगेन्द्रले त्यस दिनदेखि उनलाई आर्चरी खेलको सबै कुरा सिकाएका हुन्। “हो त्यही दिनदेखि मेरी छोरीको आर्चरी खेलमा आगमन भयो,” हर्षित मुद्रामा उनले आफ्नो विगत सम्झे।
ओलम्पिक खेल्ने अनुष्काको रहर
कलिलो उमेरमा खेल क्षेत्रमा बामे सर्दै गरेकी अनुष्काले आर्चरी खेल क्षेत्रमा सम्भावना छ भन्ने प्रमाणित गरिसकेकी छन्। नेपालमा आर्चरी खेल २०४४ सालदेखि खेल्न थालिए पनि यो परम्परागत रुपमै सीमित थियो। आधा दशक अघिदेखि मात्र आधुनिक आर्चरी खेलले नेपालमा गति लिएको हो।
यो अवधिमा भने आर्चरी खेलको प्रवद्र्धन, उत्थान र यसको विकासका लागि थुप्रै प्रयासहरु नभएका भने होइनन् तर, त्यतिले मात्र पुग्दैन। आर्चरी खेल सामान्य रुपमा निशाना लगाउने र कमानबाट तीर छोड्ने भन्ने आममानिसमा बुझाइ छ। यद्यपि, यसलाई गहिरिएर नियाल्ने हो भने कुरा फरक छ। आर्चरी खेलका लागि आवश्यक सामग्री, खेल मैदान र यसको प्रशिक्षक नै आर्चरीका लागि ठूलो चुनौती बन्दै आएको छ।
यो एक प्रकारले महङ्गो खेल पनि हो जसका कारण यो खेल सबैले खेल्ने आँट गर्दैनन्। तर, आफ्नै बुबा आर्चरीका प्रशिक्षक हुनु र घरेलु वातावरण पनि अनुकूल हुनु अनुष्काका उत्प्रेरणा हुन्। अनुष्काले आफ्नो भावी उद्देश्य सुनाउँदै भनिन्, “मैले बुबाबाट प्ररेणा पाएँ। अण्डर–१६ ओलम्पिक गेम खेल्ने धोको छ। खेल्न मात्र नभई गोल्ड मेडल जितेर वुबाआमा र देशको नाम विश्वसामु परिचित गराउनु छ। आठौं खेलकूद मेरा लागि सुनौलो अवसर बनिदियो। आर्चरी खेलमै केही गरेर देखाउँछु।”
खेलकुदमा उमेरले नछेक्ने उनको भनाइ छ। अनुष्काको सुझाव छ, “खेलमा उमेर हद हुँदैन। अझ आर्चरीमा झन् यो लागू नै हुँदैन। मात्र कुन खेल खेल्ने भन्ने कुरा निर्णय लिनु र त्यसमा नियमित अभ्यस्त हुनु ठूलो कुरा हो।” आफूमा लुकेको क्षमता उजागर गर्न उनी महिला खेलाडीलाई सुझाव दिन्छिन्।