काठमाडौँ – भारतमा अहिले चुनावको सरगर्मी छ। जताततै बिभिन्न दलका झण्डा, उम्मेदवारका पोष्टर देखिन्छन्। तर यहाँको एउटा गाउँमा चुनावको कुनै रौनक छैन। त्यो गाउँ हो अलंकेरा।
झारखण्ड प्रदेशअन्तर्गत गुमला जिल्लाको पालकोट खण्डको एउटा हिस्सा हो यो गाउँ। पूर्व विदेश राज्यमन्त्री र झारखण्डबाट राज्यसभाका सांसद एमजे अकबरलाई जन्माएको यो गाउँ सरकारी कागजातमा ‘आदर्श गाउँ’ कहलिएको छ। अलंकेरा गाउँको कुनै पनि घरका छतमा चुनावी झण्डा छैनन्। केही घरमा रातो–पहेंलो रंगवाला महाविरी झण्डा देखिन्छन्। यी झण्डामा हातमा पहाड र गदा लिएर हावामा उडिरहेका हनुमानको तस्वीर देखिन्छ। यसबाट प्रष्ट हुन्छ हालै यहाँ सार्वजनिक रामनवमी पूजा भएको छ।
एम जे अकबर एक पटक यो गाउँमा आएका पनि थिए। त्यतिबेला उनले गाउँलेहरुसँग बिभिन्न वाचा गरे। उनीसँगै गाउँमा गएका सरकारी अधिकारीहरुले पनि होमा हो मिलाए। तर यहाँ ‘आदर्श गाउँ’ भनिने त्यस्तो कुनै पनि संकेत देखिँदैन।
एमजे अकबर फर्किएपछि यहाँ उनको नाममा केही इँटा, सिमेन्टका बोरा, बालुवा, पर्खालमा पोत्ने पालिस र ग्रेनाइटका पत्थरका टुक्रा आए। यसबाट दुई वटा प्राथमिक विद्यालयको वरिपरि पर्खाल लगाइयो। एउटा पानीको धारा बनाइयो तर त्यसको टुटीबाट कहिल्लै पानी निस्किएन।
पक्की संरचनाको माथि कालो रंगको पानी ट्यांकी छ। तल प्लास्टिकको सेतो धारो। यहाँ कालो रंगको ग्रेनाइटको पत्थरमा सुनौलो रंगले लेखिएको छ। यसको निर्माण एमजे अकबर सांसदको मद्दतमा गरिएको हो। यसबाहेक यहाँ एमजे अकबरको नामोनिशान छैन। त्यसैले गाउँलेहरु उनीप्रति रुष्ट छन्। उनीहरु भन्छन्, ‘हामीलाई एमजे अकबरले मात्र होइन सबै सांसद र विधायकहरुले ठगेका छन्।’
यसबाटै रुष्ट गाउँलेहरुले गाउँको मुख्य सडकमा बार लगाएर राखेका छन्। त्यसमा लेखिएको छ, ‘नेताहरुलाई प्रवेश निषेध।’ प्रशासनको हस्तक्षेपछि यो बार हटाइएको छ तर गाउँलेहरु चुनाव बहिस्कार गर्ने कुरामा अडिग छन्।
सडक छैन, भोट पनि छैन
पालकोटबाट अलंकेरा गाउँको दुरी केबल सात किलोमिटर छ। तर कारबाट यहाँ पुग्न ४५ मिनेट लाग्छ। मोटरसाइकलमा आधा घण्टामा पुग्न सकिन्छ। यहाँको बाटोअनुसार सबैभन्दा सजिलो साइकलको सवारी हो। पालकोटबाट साइकल चढेर यहाँ आउन करिब एक घण्टा लाग्छ।
तर, यात्रा जोखिमपूर्ण छ। किनभने यो बाटोमा लडेर साइकल र मोटरसाइकल चलाउने धेरै व्यक्तिका हात खुट्टा भाँचिएका छन्।
गाउँका अलखनारायण सिंहका अनुसार धेरै वर्षदेखि सडकको हालत यस्तै छ। त्यसैले गाउँलेहरु भेला भएर निर्णय गरे – सडक बनाइँदैन भने भोट पनि दिइँदैन।
उनले भने अहिले हामीले सडकमा लगाइएको बार हटाएका छौँ। किनभने पालकोटका सरकारी प्रतिनिधिले चुनावपछि सडक निर्माणको टेन्डर खोल्ने आश्वासन दिएका छन्।
कुनै नेता आउँदैनन्
एमजे अकबर यस्ता एक्ला जनप्रतिनिधि हुन् जो विगत १०९१२ वर्षपछि गाउँमा आएका थिए। यहाँ कुनै पनि उम्मेदवार भोट माग्न आउँदैनन्। करिब पाँच हजार जनसंख्या रहेको अलंकेरा गाउँ झारखण्डको खुन्टी लोकसभा क्षेत्रको हिस्सा हो। लोकसभाका पूर्वउपाध्यक्ष कडिया मुन्डा यहाँबाट पाँच पटक सांसद बने। तर गाउँलेहरुको गुनासो छ, उनले एकपटक पनि यो गाउँमा पाइला टेकेनन्।
भाजपाले यसपटक उनलाई टिकट दिएको छैन। उनको सट्टा पूर्वमुख्यमन्त्री अर्जुन मुन्डा उम्मेदवार छन्। गाउँका छत्रपाल सिंह पेशाले शिक्षक हुन्। उनले भने, ‘सडक बिग्रिएका कारण यहाँ कुनै पनि नेता आउँदैनन्। उनीहरुका कार्यकर्ता आउँछन् र भोट मागेर फर्किन्छन्।’
छत्रपाल सिंहले भने, ‘विगतको लोकसभा र विधानसभा चुनावको क्रममा यहाँ कुनै पनि उम्मेदवार भोट माग्न आएका थिएनन्। तर निर्मल कुमार बेसरा यस्ता अन्तिम जनप्रतिनिधि हुन्, जो विधायक भइसकेपछि यहाँ आएका थिए। यो पनि धेरै वर्ष अगाडिको कुरा हो। त्यसपछि एमजे अकबर यहाँ आए। यहाँका जनताले सधैं भोट दिँदै आएका थिए। तर यस पटक हामीले सडक बन्ने ग्यारेन्टी नभएसम्म भोट नदिने निर्णय गरेका छौँ।’
उनले भने, ‘म जवानीमा साइकिलिस्ट थिएँ। तर अहिले हिम्मत छैन। यो सडकमा धेरै पटक लडेर घाइते भएको छु। तपाईं आफैं भन्नुस् सडकविना विकास कसरी हुन्छरु’
पिउने पानी छैन, बिहे पनि हुँदैन
५ सय भन्दा बढी घरधुरी रहेको अलंकेरा गाउँमा ४०–५० परिवार राजपूत छन्। बाँकी घर उराव र मुन्डा आदिवासीका छन् । राजपूतहरुको दावी छ कि यहाँका आदिवासीहरु हामीले जसलाई भन्यो त्यसैलाई भोट दिन्छन्। यस्तो अवस्थामा उम्मेदवारहरु गाउ–गाउँ घुम्ने झन्झट गर्दैनन् किनभने केबल दुई–चार राजपूत परिवारलाई भेटेर भोट माग्यो भने पूरै गाउँलेको भोट पाइन्थ्यो। तर, यसपटक भोट दिने विषयमा गाउँलेको मत बाझिएको छ। राजपूतमा पनि धेरै गुट बनेका छन्। आदिवासीले पनि आफ्ना कुरा राख्न थालेका छन्।
गाउँका सिलास बेक मजदुरी गर्दछन्। उनी आदिवासी हुन्। मजदुरी गरेर आएको ज्यालाले परिवार पालिरहेका छन्। उनी भन्छन्, ‘सडक हाम्रो मुख्य समस्या हो। यदि यो बनेन भने भोट दिइन्न। किनभने हामीलाई थाहा छ भोट पाएपछि कुनै पनि नेता सडक बनाउन आउँदैनन्।’
गाउँका किसान गिरधारी सिंहका अनुसार अलंकेरा गाउँमा न पिउने पानीको व्यवस्था छ न त सिंचाइको साधन। त्यसैले यहाँ केलब एक सिजमात्र खेती हुन्छ। आकाशे पानी र छेउँबाट बग्ने पिंजरा नदीको पानीमा निर्भर छन् किसान। यो नदी पनि गर्मी समयमा सुक्छ।
यसै गाउँका नमन कुमार भारद्वाजले भने, ‘पिउने पानीका लागि गाउँलेहरु इनारको भर पर्दछन्। धेरैजसो हाते पम्प बिग्रिएका छन्। इनारको पानी पनि पिउनलायक छैन।’
रितेश कुमार सिंह २६ वर्षका भए। तर उनको बिहे भएको छैन। उनका अनुसार अभिभावकहरुले आफ्नी छोरी यो गाउँमा दिन मान्दैनन्। अभिभावकहरु ठान्छन् सडक राम्रो नभएकाले अलंकेरा गाउँमा बिहे गरेर छोरी पठाउनु ठीक छैन। त्यसैले यही उमेरका दर्जनौं युवक कुमार छन्।
यसैबीच पालकोटका स्थानीय विकास अधिकारी शंकर एक्काले पालकोटबाट अलंकेरा हुँदै नागफेनी जाने २६ किलोमिटर लामो सडक निर्माणको प्रारुप तयार भइसकेको छ। तर चुनावको आचारसंहिताका कारण यसको घोषणा गरिएको छैन। चुनाव सकिनासाथ यसको काम सुरु हुनेछ।
उनले भने, ‘त्यसैले मैले गाउँका केही मानिसलाई बोलाएर चुनाव बहिस्कार नगर्न आग्रह गरेको छु। आशा छ उनीहरुले मेरो कुरा मान्नेछन्।’ (वीवीसी)