समय दिउँसोको ठीक १ बजे, स्थान नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल। बाहिर घाम चर्को थियो, तर भित्र वातावरणमा एउटा बेग्लै भारीपन थियो। जब गृहमन्त्री सुधन गुरुङको गाडी मुख्यालय छिर्यो, औपचारिकताका सलामीहरू त सधैँझैँ ठोक्किए, तर आजको एजेन्डा केवल 'निरीक्षण'मा मात्र सीमित थिएन।
विगतको ऐना र भविष्यको बाचा
अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्मको फन्को मारेपछि मन्त्री गुरुङ जब मञ्चमा उक्लिए, उनले मन्त्री भएर होइन, एउटा भुइँमान्छे भएर बोले। उनले ती दिनहरू सम्झिए, जहाँ एउटा प्रहरी जवानले चिउरा र चाउचाउको भरमा रातभर पहरा दिनुपर्छ।
"अब प्रहरीले आदेश होइन, स्वाभिमान पालना गर्नेछ," मन्त्रीको स्वरमा दृढता थियो। "मेरो पार्टीको मान्छेले गल्ती गरे पनि नछोड्नुस्, मेरो ढोका तल्ला तहका जवानका लागि सधैँ खुल्ला छ।"
उनले थपे- प्रहरी अब केवल 'लाठी' बोक्ने यन्त्र होइन, संकटमा 'एम्बुलेन्स' र मुस्कानसहितको सेवा दिने नागरिकको 'मामा-भान्जा' जस्तो आत्मीय साथी बन्नुपर्छ।
त्यो एउटा 'ब्रेकिङ प्वाइन्ट'
तर, माहोल तब बदलियो जब आइजीपी दानबहादुर कार्की पोडियममा उभिए। तथ्याङ्क र कार्ययोजना सुनाउँदा सुनाउँदै उनी अचानक एउटा यस्तो विन्दुमा पुगे, जहाँ संगठनको प्रमुख हुनुको अहम् पग्लिएर एउटा अभिभावकको चिन्ता प्रकट भयो।
प्रहरीहरूले बीचमै जागिर छोडेर जाने लर्को, १६ वर्षे पेन्सनको माग र थकित अनुहारहरूको फेहरिस्त सुनाउँदा सुनाउँदै आइजीपीको गला अवरुद्ध भयो।
"मैले मेरो पुलिसलाई टिकाउन सकिनँ..." यी शब्दहरू बाहिर निस्कनासाथ आइजीपी स्तब्ध भए। हलमा सन्नाटा छायो। वर्दीभित्र लुकेको एउटा मान्छेका आँखा रसाएको देख्दा त्यहाँ उपस्थित उच्च अधिकृतहरू समेत निसब्द बने।
सन्नाटा चिर्ने त्यो ताली
ठीक त्यही बेला, प्रोटोकल र औपचारिकताको घेरा तोड्दै गृहमन्त्री गुरुङ आफ्नो सिटबाट जुरुक्क उठे। उनले मुठ्ठी कसेर ताली बजाउन सुरु गरे।
त्यो ताली आइजीपीको कमजोरीका लागि थिएन, बरु उनको इमानदार स्वीकारोक्ति र पीडाप्रतिको ऐक्यवद्धता थियो। मन्त्रीले हलतिर हेर्दै संकेत गरे "उठ्नुस्, समर्थन गर्नुस्!"
हेर्दाहेर्दै पुरै हल तालीको गडगडाहटले गुञ्जियो। यो सायद नेपाल प्रहरीको इतिहासमै एउटा यस्तो क्षण थियो, जहाँ 'कमान्डर' रोइरहेको थियो र 'सरकार'ले उसलाई काँध थामेर हौसला दिइरहेको थियो।
तर, ताली रोकिएपछिको त्यो गहिरो सन्नाटा...
त्यो सन्नाटाले एउटै प्रश्न सोधिरहेको थियो के अब साँच्चै प्रहरीको दिन फिर्लान् त ?