काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै सिट बाँडफाँट कसरी हुन्छ भन्ने विषयमा चासो बढ्न थालेको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ करिब १ करोड १० लाख मत खसेको अनुमान गरिएको छ। जसमध्ये हालसम्म करिब ९५ लाखभन्दा बढी मत गणना भइसकेको छ भने करिब १५ लाख मत गन्न बाँकी रहेको छ। नेपालको प्रतिनिधिसभा २ सय ७५ सदस्यीय हुन्छ। तीमध्ये १ सय ६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १ सय १० जना समानुपातिक प्रणालीबाट चयन गरिन्छन्। प्रत्यक्षतर्फ अधिकांश निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने केही स्थानमा मात्रै मतगणना जारी छ।
कसरी चयन हुन्छन् समानुपातिक सांसद ?
समानुपातिक प्रणालीमा राजनीतिक दलहरूले देशभर प्राप्त गरेको मतको आधारमा सिट प्राप्त गर्छन्। निर्वाचनअघि नै दलहरूले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका हुन्छन्। मतगणना सकिएपछि दलहरूले पाएको कुल मतका आधारमा आयोगले सिट संख्या निर्धारण गर्छ। त्यसपछि थ्रेसहोल्ड पार गरेका दलहरूलाई आफ्नो बन्दसूचीभित्रबाट समावेशी क्लस्टर मिलाएर सांसदको नाम सिफारिस गर्न आयोगले पत्राचार गर्छ। दलहरूले सिफारिस गरेको नाम समावेशी व्यवस्था अनुसार मिलेको छ कि छैन भनेर आयोगले जाँच गरी अन्तिम रूपमा निर्वाचित सांसदको नाम सार्वजनिक गर्दै प्रमाणपत्र प्रदान गर्छ।
सिट बाँडफाँटको प्रक्रिया
समानुपातिकतर्फ सिट पाउनका लागि दलहरूले दुई सर्त पूरा गर्नुपर्छ। पहिलो, प्रत्यक्ष निर्वाचनमा कम्तीमा एक सिट जितेको हुनुपर्छ। दोस्रो, समानुपातिकतर्फको कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्छ। तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरू सिट बाँडफाँट प्रक्रियामा सहभागी हुन पाउँदैनन्। त्यस्ता दलहरूको मत हटाएर थ्रेसहोल्ड पार गरेका दलहरूको मात्रै मत जोडिन्छ। त्यसपछि उक्त मतलाई समानुपातिकतर्फका कुल ११० सिटले भाग गरिन्छ। यसरी आएको भागफल एक सांसदका लागि आवश्यक मत संख्या हुन्छ। त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मतलाई सो संख्याले भाग गर्दा आउने अंक बराबर सिट सम्बन्धित दलले पाउँछ।
नयाँ दलको प्रवेश
यस पटकको निर्वाचनमा श्रम संस्कृति पार्टीले पनि उल्लेखनीय उपस्थिति देखाएको छ। केही महिनाअघि मात्र स्थापना भएको उक्त दलले प्रत्यक्षतर्फ तीन सिट जितिसकेको छ। समानुपातिकतर्फ पनि ४ देखि ५ सिटसम्म पाउने सम्भावना देखिएको छ। यदि यस्तो भएमा उक्त दलका अध्यक्ष हर्क साम्पाङसहित ७ देखि ८ जना सांसद संसदमा पुग्ने अनुमान गरिएको छ। यससँगै दलले राष्ट्रिय मान्यता समेत प्राप्त गर्नेछ।
राष्ट्रिय मान्यता पाउने दल
हालको मतपरिणामको आधारमा प्रतिनिधिसभामा राष्ट्रिय मान्यता पाउने दलको संख्या बढीमा ६ वटा हुने देखिएको छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दलहरू सीमित भएकाले राष्ट्रिय मान्यता पाउने दल पनि सोही संख्यामा रहने अनुमान गरिएको हो। हालसम्मको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिएको छ।