काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनले देशभर नयाँ राजनीतिक परिदृश्य प्रस्तुत गरेको छ। केही चर्चित स्थानीय तहका मेयरहरूले संघीय राजनीतिमा प्रवेश गर्दै ऐतिहासिक परिणाम हासिल गरेका छन्। काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’ धरान उपमहानगरका मेयर हर्क साम्पाङ र चितवनकी मेयर रेणु दाहालले आफ्नो स्थानीय अनुभव लिएर संसदीय निर्वाचनमा उम्मेदवारी दिएका थिए।
झापा–५ मा बालेन शाहको ऐतिहासिक विजयः काठमाडौँ मेयर रहँदा शिक्षा, सरसफाइ र सम्पदा संरक्षणमा उल्लेखनीय योगदान दिएका बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा चुनावी मैदान रोजे। उनी झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। उनले ६८ हजार ३४८ मत प्राप्त गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरे। यो परिणाम संसदीय इतिहासमा सबैभन्दा फराकिलो मतान्तरमध्ये एक मानिन्छ। बालेन शाह इन्जिनियर र रापर पनि हुन्। आफ्नो मेयर पदमा हासिल लोकप्रियता र कामको अनुभवलाई उनले संसदमा प्रतिनिधित्वमा रूपान्तरण गर्न सफल भए। बालेन शाहले मेयर पदमा ७८,२८४ मत लिएर बिजयी भएका थिए ।
चितवन–३ मा रेणु दाहालको पराजयः भरतपुर महानगरपालिका मेयर रहँदै विकास र सुशासनमा समर्पित रहेकी रेणु दाहाल चितवन–३ बाट पराजित भएकी छन्। उनका प्रतिद्वन्द्वी रास्वपा उम्मेदवार सोविता गौतमले ३८ हजार ६ सय ६२ मतान्तरले जीत हासिल गरिन्। पराजयपछि दाहालले फेसबुकमा लेखिन्, “मैले कामद्वारा तपाईंहरूको मन त जितेँ, तर मत जित्न सकिनँ। मत जित्नेमा सोविता गौतमलाई धेरै बधाई। रेणु दाहालले मेयर पदमा ५२,०३० मत प्राप्त गरेका थिए।
सुनसरी–१ मा हर्क साम्पाङको सहज विजयः धरान उपमहानगरका पूर्वमेयर हर्क साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षका रूपमा सुनसरी–१ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पछि पारे। हर्क साम्पाङले मेयर पदमा २०,८२१ मत प्राप्त गरेका थिए।
यो निर्वाचनले स्पष्ट पारेको छ—लोकप्रियता र अनुभव मात्र मत जित्न पर्याप्त हुँदैन। सही रणनीति, पार्टीको आधार र जनताको विश्वास जुटाउँदा मात्र ऐतिहासिक विजय सम्भव हुन्छ। बालेन शाहको झापा–५ मा ऐतिहासिक विजय, हर्क साम्पाङको सुनसरी–१ मा सहज जित र रेणु दाहालको पराजय बेहोरेकी छिन् । नयाँ राजनीतिक शक्ति, युवा नेतृत्व र स्थानीय तहको अनुभवलाई संघीय राजनीतिमा रूपान्तरण गर्न सकिने स्पष्ट सन्देश दिएको छ।