नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेत आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ मा भक्तपुर–२ बाट पुनः निर्वाचन मैदानमा उत्रिएका छन्। लामो समयदेखि संगठन, सरकार र जनप्रतिनिधिका रूपमा सक्रिय रहँदै आएका बस्नेतलाई एमालेले अनुभवी, जुझारु र परिणाममुखी नेताका रूपमा अगाडि सारेको छ। यो उम्मेदवारी केवल व्यक्तिगत राजनीतिक यात्रा होइन, भक्तपुर–२ मा पछिल्ला दुई दशकमा देखिएको विकास प्रक्रियाको निरन्तरतासँग जोडिएको विषयसमेत हो।
महेश बस्नेतको राजनीतिक यात्रा स्थानीय तहबाट सुरु भएको हो। गुँडु गाविस अध्यक्ष हुँदै प्रतिनिधिसभा सदस्य र उद्योगमन्त्रीसम्मको यात्रामा उनले “स्थानीय आवश्यकताबाट राष्ट्रिय नीति” बनाउने सोचलाई आत्मसात् गरेका देखिन्छन्। उद्योगमन्त्रीका रूपमा रहँदा औद्योगिक प्रवर्द्धन, लगानी वातावरण सुधार र स्वदेशी उत्पादन संरक्षणका विषयमा उनको भूमिका उल्लेखनीय रह्यो। त्यो अनुभवले आज पनि उनको विकास दृष्टिकोणलाई व्यवहारिक बनाएको छ।
भक्तपुर–२ मा उनले सांसद रहँदा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखे। ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने योजना अन्तर्गत ठिमी–गाम्चा–तर्खगाल, कौशलटार–बालकोट–सिरुटार, सूर्यविनायक–घ्याम्पेडाँडा लगायतका सडक परियोजनाहरू अघि बढे। यी योजनाले यातायात सहज बनाउनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पुर्याएको देखिन्छ। सहरीकरण तीव्र हुँदै गएको भक्तपुरका लागि यी पूर्वाधार दीर्घकालीन महत्वका मानिन्छन्।
२०७२ को महाभूकम्पपछि पुनर्निर्माण प्रक्रियामा पनि बस्नेतको भूमिका प्रभावकारी रह्यो। भत्किएका विद्यालय, ऐतिहासिक सम्पदा, मठ–मन्दिर र सार्वजनिक संरचनाको पुनर्निर्माणमा उनले केन्द्र सरकार र स्थानीय तहबीच समन्वयको काम गरे। शिक्षा, स्वास्थ्य र सांस्कृतिक पहिचान जोगाउने विषयलाई उनले विकासको अभिन्न अङ्गका रूपमा हेरेका छन्।
२०८२ को निर्वाचन सन्दर्भमा बस्नेतले भक्तपुरलाई “सुविधासम्पन्न, व्यवस्थित र रोजगारीयुक्त महानगर” बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। आधुनिक अस्पताल, गुणस्तरीय शिक्षा, खेलकुद पूर्वाधार, स्मार्ट सिटी अवधारणा र औद्योगिक रोजगारी उनको प्रमुख एजेन्डामा छन्। अनुभवी नेतृत्व, स्थानीय समस्याको गहिरो बुझाइ र विकासको निरन्तरताको सन्देशसहित महेश बस्नेतको उम्मेदवारी भक्तपुर–२ मा निर्णायक महत्व राख्ने विश्लेषकहरू बताउँछन्।