काठमाडौं। मङ्सिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ।
बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।
त्यसैगरी, राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ।
नवनिर्वाचित प्रतिनिधि सभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व छ।
प्रतिनिधि सभा बैठकले तीन जना सांसदप्रति शोक प्रस्ताव पारित गरेको छ।
प्रतिनिधि सभाको दोस्रो बैठक ल मंगलबार ११ बजे बस्ने ज्येष्ठ सदस्य जबराले बैठकलाई जानकारी गराए। भोलि बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सबै दलका संसदीय दलका नेताहरूले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गरेका छन्।
कसले के भने?
नयाँ दल र सांसदहरु संसदको पुँजी हो, हृदयदेखि नै स्वागत छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताएका छन्।
मंसिर ४ को निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै प्रचण्डले भने, ‘संसदका नयाँ दलमा आवेग र केही गर्ने हुटहुटी रहेको र त्यो आवेग रचनात्मक भूमिकामा परिणत हुने विश्वास छ। विना इर्ष्या मनैदेखि भन्न चाहन्छु। यो लोकतन्त्र र नागरिक सम्प्रभुताको जित हो, उहाँहरुमा केही गरौं भन्ने हुटहुटी छ। यो संसदको पुँजी हो, तपाईहरुलाई हृदयदेखि नै स्वागत छ।’
उनले जनताको गुनासो, चासो, समस्या समाधान गर्ने प्रतिवद्धता जनाए। उनले आफूहरुलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए। प्रचण्डले विविधताबीचको एकतारुपी संसद् विरलै देख्न पाउने भन्दै नेपालको संसद्प्रति वर्ग गर्नुपर्ने बताए।
साझा उद्देश्य र कामका लागि सबै राजनीतिक दल, सांसदहरू एक ठाउँमा उभिएर सम्बोधनको प्रयास गर्नुपर्ने उनले बताए।
राजनीतिलाई भावना र उत्तेजनाभन्दा पनि आर्थिक समृद्धिका निम्ति पहल लिनुपर्ने उनले बताए। प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताए।
कांग्रेस संसदमा रचनात्मक रुपमा प्रस्तुत हुन्छः देउवा
पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै देउवाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
उनले भने, ‘माननीय पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ। उहाँको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन भएको छ। नवनियुक्त प्रधानमन्त्री प्रचण्डजीलाई हार्दिक बधाई दिन चाहन्छु। कार्यकाल सफलताको शुभकामना पनि दिन चाहन्छु।’
उनले प्रतिनिधिसभामा निर्वाचित भएर आएका सबै सांसदलाई बधाई दिए।
देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए। देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरे।
देउवाले आफ्नो नेतृत्वमा नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न भएको दाबी गरे। देउवाले यो प्रतिनिधि सभाबाट देश र जनताले धेरै ठूलो अपेक्षा गरेको बताए।
प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क छु तर चुनौती धेरै छन्ः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा सदस्यको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका हुन्।
देशले नयाँ परिवर्तन खोजेको संकेत चुनाव अघि नै गरेको पनि उनले बताए। यो सरकारको गठनबाट पनि नयाँ परिवर्तन आएको देखिएको उनले बताए। पार्टीहरू थुप्रै भएपनि जनताले परिवर्तनको अपेक्षा राखेकाले नयाँ पार्टीको उदय भएको उनले बताए।
उनले अहिलेको परिस्थिति सहज नभएको बताए। उनले भने, ‘अनेक चुनौंती छन्। पहिलो पटक राजश्व ऋणात्मक भएको छ। त्यसैले यी चुनौतीलाई चिर्दै सरकारले अघि बढ्नुछ।’
ओलीले महँगी बढ्दो भएकाले जनजीवन कष्टकर बनिरहेको बताए। सबै कुराको सकारात्मक समाधन खोज्न र त्यसबाट अघि बढ्नुपर्ने बताए। ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकांक्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताए।
जनताले बजाएको घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछः लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले पाएको मत निराशाको नभएर आशाको मत भएको बताएका छन्।
मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताए। आफूहरूलाई जनताले परिवर्तनको लागि मत दिएको उनले बताए।
उनले जनताले आफूहरूलाई मात्तिने गरी र पुराना दलहरूलाई पनि सचेत हुने गरी मत दिएको बताए। उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक दलको उदय हुनु ठुलो कुरा होइन। हामीले जुन समयमा मत पाएका छौँ। त्यो दल र व्यक्तिलाई दिएको मत मात्रै होइन। यो मुलुकमा परिवर्तन आवश्यक छ भनेर जनताले बजाएको घण्टी हो। यो घण्टीको आवाजलाई सदन र सिंगो देशले सुन्नेछ।’
उनले भ्रष्टाचारका फाइल खोलेर सुशासनको आशा जगाउने प्रतिवद्धता जनाए।
उनले भ्रष्टाचारका विषयमा कसैले पनि प्रभाव नपारीदिन आग्रह गर्दै जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताए। लामिछानेले अपराधको अनुसन्धानमा असहयोग नगरिदिन सासंदहरुलाई आग्रह गरे।
संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छः नेता यादव
जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता रामसहायप्रसाद यादवले सङ्घीयता, समावेशी लोकतन्त्र, गणतन्त्र र समावेशीलाई संस्थागत गरेर कार्यान्वयन गर्नु अहिलेको संसद्को जिम्मेवारी भएको बताएका छन्।
संविधान जारी भएको सात वर्ष भइसक्दा पनि संविधानमा भएको व्यवस्था कार्यान्वयन हुन नसकेको उनले बताए। प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नसकिएको उनले बताए।
प्रदेशलाई कमजोर बनाउने काम भइरहेको टिप्पणी गर्दै नेता यादवले केन्द्रीकृत शासनलाई फर्काउने सोच धेरैमा पलाइरहेको आरोप लगाए।
कुनै पनि दल र विचारलाई निषेध गर्ने छुट कसैलाई छैनः लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि दल र विचारलाई निषेध गरेर जाने छुट कसैलाई नभएको बताएका छन्। मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।
अध्यक्ष लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको र सबै दल र विचारलाई मिलेर अघि बढ्न जनादेश दिएको बताए।
उनले भने, ‘कुनै पनि राजनीतकि दल एक्लै अगाडि जान सक्दैनौं। कुनै पनि दल र विचारलाई निषेध गरेर जान सक्दैनौ। सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुन सक्छ। समस्याको समाधान हुन सक्छ भन्ने जनादेश छ।’
आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने अध्यक्ष लिङ्देनले बताए।
राप्रपाले प्राप्त जनादेशअनुसरा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्धामा दृढताको साथ उभिने बताए। राप्रपा मुलुकको अस्थिरको कारक नबन्ने प्रष्ट पारे।
समृद्धिको बाटोमा अघि बढ्नुपर्छः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको मूल अन्तर्यलाई समातेर समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए। उनले देशको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए।
उनले महँगी, कालाबजारी, कृत्रिम अभावदेखि युवाहरू बेरोजगारीको चक्रमा पर्ने लगायत देशको सिङ्गो अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको पनि बताए।
देशमा राजनीतिक स्थायित्वका लागि विगतको अनुभवबाट शिक्षा ग्रहण गरेर वर्तमान सरकार संविधानको पालना गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।
नयाँ दलसँग राजनीतिक आवेगसँगै संयमयता र धैर्यता पनि छः रावत
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त रावत (सीके रावत) ले गणतान्त्रिक व्यवस्थामा मधेसवादी जनता र राजनीतिक शक्तिको उच्च विश्वास र सम्मान रहेको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा दलको तर्फबाट सोमबार सम्बोधन गर्दै अध्यक्ष रावतले सो कुरा बताएका हुन्। सङ्घीय गणतान्त्रिक व्यवस्थाका लागि आफूहरू सदैव लागिरहने उनले बताए।
लोकतान्त्रिक व्यवस्थाकै देनले धनाढ्यहरू सामान्य नागरिकको झुपडीमा गएर झुक्न बाध्य भइरहेको उनले बताए। निर्वाचनबाटै जनताको नयाँ आवाज मुखरित भइरहेको उनले चर्चा गरे।
आगामी दिनमा नेपाल सरकार, दलका नेताहरूले दलको अधिकार सुनिश्चित गर्नमा लाग्न उनले आग्रह गरे।
नयाँ दलसँग राजनीतिक आवेगसँगै संयमयता र धैर्यता पनि रहेको उनले बताए। देशमा सकारात्मक परिवर्तनका लागि आफूहरू संसदमा आएको बताउँदै अध्यक्ष रावतले त्यसका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाए।
नेपाल विविधतायुक्त देश भएकाले देशमा सङ्घीयता अपरिहार्य रहेको चर्चा गर्दै अध्यक्ष रावतले सरकारले सङ्घीयतालाई सबल बनाउनेतर्फ ध्यान दिनेमा उनले विश्वास व्यक्त गरे।
टीकापुर घटनाका निर्दोषहरूलाई रिहाइ गर्नुपर्छः अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुर घटनामा सरकारले थारुमाथि अन्याय गरेकाले न्याय गर्न माग गरिन्।
पहिचानका लागि आन्दोलन गर्दा थारुहरूमाथि राज्यले अन्याय गरेको बताउँदै अध्यक्ष चौधरीले त्यसअघि अरू राजनीतिक घटना भए पनि त्यसलाई राजनीतिक घटना बनाएर न्याय गरेको उदाहरण भएको चर्चा गरिन्।
टीकापुर घटनाको आरोपमा जेल जीवन बिताइरहेकाहरूलाई तत्काल रिहाइ गर्न र झुठामुद्दा खारेज गर्न उनले सरकारसँग आग्रह गरिन्।
लाल आयोगको प्रतिवेदन अझै सरकारले सार्वजनिक नगरेको भन्दै उनले त्यसको चाँडै सार्वजनिक गर्नुपर्ने माग गरिनउ्।
समस्या समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्छः भण्डारी
लोकतान्त्रिक समाजवादी पार्टीको नेता शरत्सिंह भण्डारीले संविधानलाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने बताए।
उनले आर्थिक, राजनीतिक र सामाजिक समस्या समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए।
मन्त्री र सांसद उत्पादन गर्ने कारखाना भयो सङ्घीयताः अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयता मन्त्री र सांसद उत्पादन गर्ने कारखाना सावित भएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा दलको नेताको हैसियतले सोमबार सम्बोधन गर्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन्। सङ्घीयताले देशको विकासभन्दा दलका नेता, मन्त्री, सांसदको विकास गरेको चर्चा गर्दै अध्यक्ष केसीले देशको विकासका लागि सबै इमानदार नहुँदासम्म देश नबन्ने उनले बताए।
दलका नेताहरुको ध्यान देश बनाउनेभन्दा सत्ता, मन्त्रीतर्फ केन्द्रित रहेको उनले टिप्पणी गरे। मुलुकमा सङ्घीयता, लोकतान्त्रिक गणतान्त्रमक व्यवस्था आउँदासमेत दैनिक हजारौं युवा विदेश गइरहेको चर्चा गर्दै अध्यक्ष केसीले गणतन्त्रमा युवाहरु बाहिर जानु दुःखद भएको बताए।
जनताको अपेक्षा पूरा गर्नकै लागि गणतान्त्रिक व्यवस्था मुलुकमा ल्याइए पनि जनताले न्याय नपाएको उनको भनाइ छ।
देश र जनताको भविष्यप्रति दलका नेताहरु गम्भीर नहुँदासम्म मुलुकमा वास्तविक परिवर्तन सम्भव नहुने भन्दै उनले मुलुकमा तिथि बसाल्न सकेमात्र समस्या समाधान हुने बताए।
नागरिकता विधेयक खारेज गर्न आवश्यकः सांसद सुवाल
प्रतिनिधि सभा सांसद प्रेम सुवालले विद्यालय शिक्षा अनिवार्य तथा निःशुल्क हुनुपर्ने बताए।
अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिायेजना खारेज हुनुपर्नेमा अहिले स्थानीय जनताको विरोध भइरहेको उनले बताए।
पञ्चायतदेखि बहुदलसम्म भ्रष्टाचारको कमी नभएको भन्दै उनले कारबाहीका लागि संसदीय समिति बनाउनुपर्ने बताए। उनले नागरिकता विधेयक खारेज गर्न आवश्यक रहेको समेत बताए।
स्वतन्त्र सांसद
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा हुँदा खाने र हुने खाने सबैले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताए।
उनले भने, ‘देशको अर्थतन्त्र जर्जर अवस्थामा छ, यो विचौलियाको चपेटामा परेर भएको हो, राजनीतिमा सिद्धान्त, आदर्श र समर्पण चाहिन्छ। जनतालाई शिक्षा र स्वास्थ्य, किसानलाई मल र बीउ चाहिएको छ।’
स्वतन्त्र सांसद प्रभु साहले राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय एकता आवश्यक अपरिहार्य भएको बताए।
अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले जनजीविकासँग जोडिएको कृषिलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिए।
उनले शिक्षा क्षेत्रलाई सुधार गर्न योजनाबद्ध कार्यक्रम आवश्यक रहेको भन्दै सरकारी विद्यालयको स्तर उकास्नुपर्ने बताए।