धनगढी । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गएपछि सुदूरपश्चिममा भावी मुख्यमन्त्रीको पनि चर्चा सुरु भएको छ ।माओवादीले सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ । यद्यपि अरू दलहरूले अझै मुख्यमन्त्रीका रूपमा कसैको नाम सार्वजनिक गरेको छैन ।
त्यस्तै नेपाली काँग्रेसका तर्फबाट रण बहादुर रावल, बहादुर सिंह थापा, गोविन्द बोहराको नाम लाई लिएर चर्चा सुरु भएको छ । प्रदेश सभाको पहिलो निर्वाचनमा पनि काँग्रेसका तर्फबाट मुख्यमन्त्रीका रूपमा कसैलाई अघि सारिएको थिएन । पार्टी सभापति देउवा निकट भएका कारण रावल संसदीय दलको नेता बने । र, उनलाई नै मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । काँग्रेस अन्तिम समयमा प्रदेश सरकारमा सहभागी त भयो । तर रावलले मन्त्रीमा चित्त बुझाउनु प¥यो । यस पटक पनि माथि उल्लेख गरिएका नाम भन्दा पनि नयाँ अनुहार नेपाली काँग्रेसको संसदीयको नेता बन्न सक्ने आङ्कलन गरिएको छ ।
माओवादीका तर्फबाट मुख्यमन्त्रीका रूपमा अघि सारिएको खगराज भट्ट डडेल्धुराको प्रदेश १ बाट चुनाव लडिरहेका छन् । उनको प्रतिस्पर्धा नेकपा एमालेका पठान सिंह बोहरासँग हुदैछ । उक्त क्षेत्रमा काँग्रेस र माओवादी केन्द्र बलियो छ । र, दुइटै पार्टीका साझा उम्मेदवारका रूपमा भट्ट चुनावी मैदानमा होमिएका छन् । गठबन्धनको पुरै मत पाए भट्टको जीत सहज छ । यद्यपि जातीय र भेगीय भोटले फरक परिणाम आउन सक्ने अवस्था पनि उत्तिकै छ ।
काँग्रेस र माओवादी केन्द्रका सबै नेताहरूले इमानदारीपूर्वक सहयोग गरे भट्टलाई चुनाव जित्न कठिन हुने छैन ।आगामी सरकारको नेतृत्व काँग्रेसले गर्ने अवसर पाए कैलालीको क्षेत्र नम्बर १ को प्रदेश २ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका आन्तरिक मामिला मन्त्री रण बहादुर रावल नेपाली काँग्रेसबाट भावी सरकारको मुख्यमन्त्री बन्ने सम्भावना सबैभन्दा बढी छ । उनलाई यसअघि पनि मुख्यमन्त्रीका रूपमा हेरिएको थियो ।
यद्यपि उनको जीत पहिले जस्तो सहज भने देखिँदैन । पार्टीभित्रको असन्तुष्टि, आन्तरिक कलह, त्यसमाथि जातीय भोट, र ती भोटलाई प्रभावित गर्न सक्ने नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारीले रावललाई चुनाव जित्न कठिन हुने देखिन्छ । रावलपछि काँग्रेसका तर्फबाट मुख्यमन्त्री हुन सक्ने उम्मेदवारका रूपमा बहादुर सिंह थापालाई हेरिएको छ । गत निर्वाचनमा हार व्यहोरेका थापा यस पटक कञ्चनपुर क्षेत्र नम्बर नम्बर २ को प्रदेश २ मा बलिया देखिन्छन् । उनको निर्वाचन क्षेत्रमा स्थानीय तहको मतका आधारमा गठबन्धन बलियो छ । स्थानीय तहको मत परिणाम प्रदेश सभामा पनि दोहरिए उनको जीत सहज छ ।
काँग्रेसमा मुख्यमन्त्रीका रूपमा हेरिएका अर्का उम्मेदवार दिवान सिंह विष्ट हुन् । विष्ट कञ्चनपुरको क्षेत्र नम्बर १ को प्रदेश २ मा उम्मेदवार छन् । डडेल्धुराको प्रदेश २ मा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका गोविन्द बोहराको नाम पनि भावी मुख्यमन्त्रीका रूपमा चर्चामा छ । विभाजित एमाले र त्यसमाथि एमालेका बागी उम्मेदवार र नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशीको स्वतन्त्र उम्मेदवारीले बोहरालाई सहज भएको छ । नेपाली काँग्रेस बिपीको सहयोग जोशीलाई छ ।
नेकपा एमालेबाट लाल बहादुर थापा, कृष्ण प्रसाद जैसी, पठान सिंह बोहरा, चक्र मल्ललाई संभावित उम्मेदवारका रूपमा हेरिएको छ । प्रदेश सभा सदस्यका उम्मेदवारहरू मध्ये थापा र जैसी सिनियर मानिन्छन् । बाजुरामा काँग्रेस भित्रको आन्तरिक कलहका कारण थापालाई जित्न सहज हुने आङ्कलन गरिएको छ ।
तर काँग्रेस एक ढिक्का भएमा भने थापाको जीत सहज छैन । एमाले अछामका पुराना नेता जैसीको पनि एमालेबाट भावी मुख्यमन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ । गठबन्धनका बिचमा अन्तरघात भए मात्र जैसीको जीत सहज हुनेछ । अन्यथा अछाममा गठबन्धन बलियो छ । काँग्रेस र माओवादीबिचको गठबन्धनले एमालेलाई अछाममा जीत निकाल्न कठिन हुने देखिन्छ ।
कैलालीमा पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टी पनि जवर्जस्त ढङ्गले उपस्थिति जनाइरहेको छ । पार्टी गठन भएको तीन महिनामा चार वटा स्थानीय तहमा जीत हात पारेको उन्मुक्ति पार्टीले प्रदेश सभामा पनि त्यस्तै अनपेक्षित परिणाम ल्याउन सक्ने अनुमान गरिएको छ । यद्यपि उन्मुक्ति पार्टीका तर्फबाट कसैलाई मुख्यमन्त्रीका रूपमा भने सारिएको भने छैन ।