काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौंमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनतासँग शालिन र विनम्र भएर हाकिमजस्तो नभई सेवकका रूपमा सेवा दिन आग्रह गरेका हुन्।
उनले भने, ‘चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ। अब तपाईँहरूका पाइला– पाइलामा जाँच हुन्छ। पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला।’
अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिँदै स्थानीय तहको निर्वाचनको परिणामा प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्याकर्तालाई निराश नहुन आग्रह गरे।

अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गरे।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उप्रमुखलाई प्रशिक्षण दिइएको हो।