काठमाडौँ । मधेश प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो परिस्थितिबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन् । गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको उक्त छलफलमा मधेश प्रदेशमा देखिएको पछिल्लो तनाव, त्यसका मुख्य कारणहरू, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायहरूबारे विस्तृत समीक्षा गरिएको थियो।
छलफलका क्रममा सहभागी अधिकांश सांसदहरूले सामाजिक सञ्जालमा प्रसारित भएका भ्रामक तथा उत्तेजना फैलाउने भिडियोका कारण सर्वसाधारणमा आक्रोश बढेको र त्यसले आन्दोलनलाई थप चर्काउन भूमिका खेलेको धारणा व्यक्त गरे । गलत सूचना र भ्रामक सामग्री नियन्त्रणका लागि राज्यका नियमनकारी तथा सुरक्षा निकायहरू अझ सचेत र जिम्मेवार हुनुपर्नेमा सांसदहरूले जोड दिए ।
उक्त अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका सभापति तथा सांसद तपेश्वर यादव र नेपाली कांग्रेसकी सांसद रेखा यादवले मधेशको परिस्थिति सहज बनाउन गृहमन्त्री गुरुङले देखाएको तत्परता र भूमिकाको प्रशंसा गर्दै धर्मका नाममा हुने राजनीति तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि रोक्न सबै दल एक हुनुपर्ने बताए ।
छलफलमा सहभागी जनप्रतिनिधिहरूले पनि मधेशमा सामाजिक तथा धार्मिक सद्भाव अक्षुण्ण राख्न सरकार, दल र जनप्रतिनिधिबिच निरन्तर समन्वय आवश्यक रहेको बताउँदै सम्वाद र आपसी समझदारीमार्फत समस्याको स्थायी समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।