काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा मन्त्रालय खारेज नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री यादवले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ मार्फत युवाको विषयमा समन्वय र नेतृत्व गर्ने गरी युवा, श्रम तथा रोजगार मन्त्रालयको व्यवस्था गरिएको जानकारी दिए । उनले युवा सवाल कुनै एक मन्त्रालयमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, रोजगारी, सीप, प्रविधि र उद्यमशीलताजस्ता बहुआयामिक विषयसँग जोडिएकाले विभिन्न मन्त्रालयका कार्यक्रमहरूलाई जोड्ने र नेतृत्वदायी समन्वय गर्ने जिम्मेवारी यस मन्त्रालयलाई दिइएको बताए ।
मन्त्री यादवका अनुसार युवालाई देशभित्रै रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले सीप विकास, नेतृत्व विकास तथा उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमहरू प्राथमिकताका साथ सञ्चालन भइरहेका छन्। उनले राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को समसामयिक पुनरावलोकन गरी नयाँ ऐन ल्याउने तयारी भइरहेको र त्यसको मस्यौदा नेपाल कानुन आयोगबाट तयार भई मन्त्रालयमा प्राप्त भइसकेको जानकारी दिए । बदलिँदो समय र प्रविधिसँगै संस्थाहरूलाई पनि परिमार्जन गर्दै राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी र नेतृत्वदायी निकायका रूपमा विकास गरिने उनको भनाइ थियो।
यसैगरी, मन्त्री यादवले नेपाली युवालाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने, सीपयुक्त र आत्मनिर्भर बनाउन ‘युवा नीति, २०८२’ ल्याइएको बताए । आगामी दशकका लागि मार्गचित्रका रूपमा रहने उक्त नीतिमा युवा रोजगारी, सूचना प्रविधि, जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेटिएको उनले उल्लेख गरे । आगामी आर्थिक वर्षको बजेटमा ‘रोजगार प्रवद्र्धन दशक’लाई सर्वोच्च प्राथमिकतामा राखिएको भन्दै उनले ‘कमाउँदै सिक्दै’ अवधारणामा आधारित कार्यक्रम, करियर उडान र विभिन्न ट्रेडिङ तथा केयर इकोनोमीका क्षेत्रमा तालिम सञ्चालन गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने स्पष्ट पारे।