बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला वली खत्रीविरुद्ध प्रहरीमा जाहेरी परेको छ।
मंगलबार बिहान तुलसीपुर उपमहानगर–५ बसपार्क निवासी मिना भण्डारी बस्नेत र उनकी छोरी माथि राज्यमन्त्री खत्रीले अभद्र व्यवहार गरेको भन्दै पीडितले जाहेरी दिएका हुन्।
इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपनि दर्ता भएको छैन। राज्यमन्त्री खत्रीलाई भने प्रहरीले भण्डारीकै घरबाट मंगलबार बिहान नै नियन्त्रणमा लिएको छ। स्थानीयले मन्त्रीले कुटपीटसहित तोडफोड गरेको जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
आफ्नो प्रेमीलाई सम्पर्क विहिन गराएको आरोपमा खत्रीले भण्डारी र उनकी नाबालिका छोरीमाथि अभद्र व्यवहार गर्दै तोडफोड गरेको बताइएको छ। जाहेरीमा अभद्र व्यवहार, धम्की दिने गरेको उल्लेख गरिएको छ। खत्री र भण्डारीका श्रीमान एकराज बस्नेतबीच प्रेम सम्बन्ध रहेको विवरण यसअघि नै सार्बजनिक भएको थियो।