काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले श्रमिकको सुरक्षामा सरकार कटिबद्ध रहेको बताए । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले मजदुर र श्रमिकको सुरक्षाका लागि गृह मन्त्रालय दत्तचित्त भएर लागिपर्ने उल्लेख गरे ।
“गरिबीको रेखामुनि रहेका श्रमिकलाई कसरी सहज रुपमा अगाडि बढाउन सकिन्छ त्यही हाम्रो लक्ष्य हुनुपर्छ, श्रमिकको हक, हित र सुरक्षा गर्ने सरकारको मुख्य दायित्व हो,” मन्त्री खाणले भने, मुलुकमा राजनीतिक परिवर्तन भए पनि आम नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै उनले आम नागरिकको जीवनमा परिवर्तन ल्याउन सबै लाग्नुपर्ने बताए । कोरोना महामारीमा श्रमिक र मजदुर ठूलो समस्यामा परेको उनको भनाई छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको जग नै मजदुर आन्दोलन भएको मन्त्री खाणले सो अवसरमा स्मरण गरे । “प्रजातान्त्रिक आन्दोलनभन्दा मजदुर आन्दोलन जेठो हो, प्रजातान्त्रिक आन्दोलन र मजदुर आन्दोलन एक सिक्काका दुई पाटा हुन्,” उनले भने, कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेस सरकारको पालामा मजदुरका लागि सामाजिक सुरक्षा ऐन र श्रम ऐन आएको भन्दै यसलाई कार्यान्वयन गर्नु अहिलेको प्रमुख दायित्व भएको बताए । कांग्रेस केन्द्रीय सदस्य हरिशरण नेपालीले संविधानले श्रमिकको हकलाई मौलिक हकमा राखे पनि यो कार्यान्वयन नभएको गुनासो गरे ।
अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन (आइएलओ) का नेपाल प्रतिनिधि रिचार्ज हवाडले सामाजिक सुरक्षा श्रमिकको पहिलो अधिकार भएको उल्लेख गर्दै नेपालले सामाजिक सुरक्षा ऐन सुरु गरेको भन्दै खुसी व्यक्त गरे । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनाल, जिफन्टका उपाध्यक्ष विदुर कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिंखडा, नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश २ का सभापति लक्ष्मण कुर्मी, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्र पौडेल, चियावगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङ, कृषि श्रमिक सङ्घका अध्यक्ष विमला गैरेलगायतले सामाजिक सुरक्षा ऐन र श्रमिक ऐन आएपनि श्रमिकको अधिकार सम्बोधन हुन नसकेको भन्दै मजदुर अधिकारका लागि सबै मजदुर सङ्गठन एकजुट भएर लड्नुपर्ने बेला आएको बताए ।
सोही कार्यक्रममा नेपाल ट्रेड युनियनका उपाध्यक्ष अजयकुमार राईले विदेशस्थित विभिन्न ट्रेड युनियन सङ्घसंस्थाले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेकोे सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसको प्रतिनिधित्व गर्दै विभिन्न पदमा पुग्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा कांग्रेस केन्द्रीय सदस्य रमा पौडेल, हरिशरण नेपाली, अजयबाबु शिवाकोटी र सुशीला मिश्र भट्ट, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल शिक्षक सङ्घका पूर्वअध्यक्ष केशव निरौलालगायत रहेका छन् ।
दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनमा राष्ट्रिय श्रम आयोगको गठन, मर्यादित रोजगारीको सिर्जना, वैदेशिक रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने, श्रम प्रशासनको क्षमता विकास तथा विस्तार, नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व, जलवायु परिवर्तनका कारण श्रमिकलाई पर्ने असर न्यूनीकरण, सातै प्रदेशमा श्रम अदालतको व्यवस्था, कार्यस्थलमा हुने लैङ्गिक हिंसा तथा दुव्र्यवहारको अन्त्यलगायतबारे छलफल हुनेछ ।
यस्तै, योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकका लागि लागू गर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई कार्यस्थलबाटै मताधिकारको व्यवस्था, राज्यका तीनवटै तहको सरकारमा सामाजिक संवादको संरचना र स्थानीय तहमा श्रम तथा रोजगार केन्द्र, श्रम सल्लाहकार परिषद् र श्रमिकको पञ्जीकरण गरी परिचयपत्र जारी गर्ने विषयमा समेत छलफल हुने नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्रकुमार कुँवरले जानकारी दिए ।